पर्यटकलाई राराको आनन्दमा भुलाउने किशोरी

रमा केसी ९ मंसिर २०८० १५:४१
86
SHARES
पर्यटकलाई राराको आनन्दमा भुलाउने किशोरी घोडा चढेकी कृष्णमाया विक।

सुर्खेत– गोरो वर्ण, फिँजारिएको कपाल, निधारमा कालो टीका र अनि शरीर ढाक्ने गरी ओढेको पछ्यौरा। अनि कहिले घोडामा पर्यटकलाई चढाएर डोर्‍याउने त कहिले आफैँ घोडा चढ्ने।  १६ वर्षीया कृष्णमाया विकको हुलिया र दैनिकी हो यो। उनी कुनै सौन्दर्य प्रतियोगितामा सहभागी हुनका लागि छनोट भएकी किशोरी होइनन् न त कुनै फिल्ममा काम गर्न तयार कलाकार।

कृष्णमाया त कर्णालीको विकट गाउँकी यस्ती किशोरी हुन् उनी सानै उमेर आफ्नो खुट्टामा उभिन लगनशील भएर लागेकी छन्। विपन्न परिवारकी छोरी कृष्णमायाको कमाइबाट घरखर्च पनि चल्न थालेको छ। उनको आम्दानीको माध्यम बनेको छ घोडा। उनले घोडाको सहयोगमा पर्यटकहरूलाई रारा तालको प्राकृतिक सान्दर्यमा डुबाउँदै आएकी छन्।

त्यसो त मुगुको पहिचान प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा हो। त्यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन्। मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब तीन घण्टा पैदल हिँडेपछि पुगिन्छ रारा। जहाँ घोडासँगै भेटिइन् किशोरी कृष्णमाया।

विद्यालय बिदाको दिन सबेरै रारा पुग्ने कृष्णमायाको मुख्य काम हो घोडामा राखेर पर्यटक घुमाउनु। उनले ४५ हजार रुपैयाँमा घोडा किनेकी हुन्। पर्यटकलाई घोडा सवारबाटै उनले आफ्नो पढाइ खर्च जुटाउँछिन्।

कलिलै उमेरमा कृष्णमायाको लगनशीलता देखेर उनका बुवाआमा पनि खुसी छन्। बुवा सिंग भन्छन्, ‘सानै उमेरमा छोरीको कामप्रति लगाब दखेर हामी खुसी छौँ। उनको आम्दानीबाट परिवारमा धेरै सहयोग पुगेको छ।’

उनी कर्णाली माध्यमिक विद्यालय डोब्लाको कक्षा १० की छात्रा हुन्। घरबाट करिब डेढ घण्टाको दूरीमा उनको विद्यालय छ। उनको बोलीले रारा पुग्ने जोकोहीलाई पनि आकर्षित गर्छ। कृष्णमायाले ‘मेरो घोडामा बसौँ है’ भनेर आग्रह गर्दा घोडा नचढ्ने पर्यटक कमै हुन्छन्।

रारामा मात्र होइन उनी घरको काममा पनि दत्तचित्त भएर लाग्छिन्। ‘स्कुल बिदा भएको बेला घोडा सवार गराउन रारा आउँछु’, उनी भन्छिन्, ‘स्कुल खुलेको बेला आउँदिनँ, पढ्न र घर खर्च चलाउन यो काम गर्छु।’

विद्यालय बिदाको दिनमात्र घोडा सवार गराउने कृष्णमायाको कमाइ मासिक २५ हजार रुपैयाँ हुन्छ। ‘घोडा सवारबाटै मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गर्छु,’उनले भनिन्।

मंसिर, पुस, माघ र फागुनमा उनको कमाइ हुँदैन किनभने त्यति बेला प्रकृतिले साथ दिँदैन। ती महिनामा हिउँ पर्छ र रारामा अत्यधिक चिसो हुन्छ। जसका कारण पर्यटक आउँदैनन्। पर्यटक नआएपछि कसलाई घोडा सवार गराउने? ‘हिउँ पर्ने महिनामा त कमाइ हुँदैन,’ उनले भनिन्, ‘सिजनको समयमा कमाइ हुन्छ।’

घोडा सवार गराउन नपाएर के भयो? पैसा कमाउने अनेक तरिका छन्। कृष्णाले गीत गाएर पनि पैसा कमाउँछिन्। पर्यटक देख्नेबित्तिकै उनी गीत गाउन अगाडि सर्छिन्। उनको गीत सुनेर पर्यटक मुसुमुसु हाँस्छन् र केही रुपैयाँ दिन्छन्। कृष्णमाया खुसी हुन्छिन्।

‘कोही पर्यटकले बोलेको सुनेर र गीत गाएर सुनाएपछि राम्रो मानेर पैसा पनि दिन्छन्,’ कृष्णमायाले भनिन्। उनले पर्यटकलाई घोडा सवार गराउने मात्र होइन भेडापालन पनि गरेकी छिन्। उनको घरमा अहिले ३० वटा भेडा छन्। घोडा सवार र भेडापालनको मुख्य उद्देश्य घर र पढाइ खर्च भएको उनको भनाइ छ।

‘अरू आम्दानी गर्ने ठाउँ केही छैन,’ उनले भनिन्, ‘यहाँ काम नगरेपछि बुवा भारत जानुपर्छ। भारत जानुभन्दा घरमै बसेर पनि पैसा कमाउन सकिन्छ भनेर यही काम गरिरहेका छौँ।’ उनीसँगै उनका दाइ र बुवाले पनि पर्यटकलाई घोडचढी  गराउँछन्।

प्रकाशित: ९ मंसिर २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =