सिरहा र सप्तरीको सिमाना बलान नदीमा तटबन्ध निर्माण

हिमाल प्रेस १४ साउन २०८० ७:३४
6
SHARES
सिरहा र सप्तरीको सिमाना बलान नदीमा तटबन्ध निर्माण फाइल तस्बिर।

सिरहा– लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ।

नदीले पश्चिम किनार रहेका लहान-२३ को करैया तिलेबोना गाउँका किसानको सयौं बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो। यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ।

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशंकर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो।

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०/०८१ मा लहान नगरपालिकाबाट रु ५० लाख रकम विनियोजन गरिएको मेयर चौधरीले जानकारी दिए

‘यहाँ धेरै ठूलो रकम लाग्छ। प्रदेश र संघ सरकारसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने, ‘यसपालि केही महिनाभित्रै ठोसरूपमा ठूला योजना ल्याएर तटबन्ध निर्माण गर्छौं। अहिले तत्कालका लागि अस्थायी प्रकृतिको तटबन्ध निर्माण गरिनेछ।’

यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

लहान नगरपालिका-२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ वडा र भगवानपुर गाउँपालिकाको १ र ४ वडाको गरी सयौं बिघा उर्वर जमिन वर्षौंदेखि कटान भइरहेको लहान-२३ का अजय यादवले बताए। वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ।

प्रकाशित: १४ साउन २०८० ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =