बेनी-दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

हिमाल प्रेस १३ साउन २०८० १३:४९
6
SHARES
बेनी-दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

म्याग्दी- बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ। सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्।

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताए। सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उनले बताए।

ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो। ‘वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ’, उनले भने, ‘फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ।’

उनका अनुसार पहिरोबाट खसेको ढुंगाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्।

करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ। ‘सडक माथिको भिरमा गेगरै गेगर छ। खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, श्रीसले भने, ‘म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ।’ उनका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ।

‘पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुंगा खसिरहने भएकाले जोखिम छ’, मंगला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, ‘यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पुर्‍याउन सकिएको छैन।’

प्रकाशित: १३ साउन २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =