धौलागिरि हिमालको आधार शिविर पदमार्गमा पहिरोले क्षति

हिमाल प्रेस ११ साउन २०८० ८:०५
8
SHARES
धौलागिरि हिमालको आधार शिविर पदमार्गमा पहिरोले क्षति

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका-४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ।

नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो। सडक सुविधा नपुगेको सिम्कोश-बगर म्याग्दीको भौगोलिकरुपमा विकट र दुर्गम बस्ती हो।

पहिरोले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको बगरका बासिन्दासमेत रहेका वडासदस्य हरि तिलिजाले बताए।

‘बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ,’ उनले भने, ‘बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोश बगर गाउँमा आवतजावत बन्द भएको छ।’

पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जान सकेका छैनन्। गाउँ बाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन्।

बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।

बगर पुग्ने वैकल्पिक पदमार्ग पहिचान र मर्मत गरी आवतजावत सहज बनाउन पहल गर्ने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए।

घोडेटो बाटो बन्नुअघिको पुरानो गोरेटोबाटो मर्मत गर्न प्राविधिक टोलीलाई अध्ययनमा पठाउने उनले बताए।

द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको पदमार्ग निर्माणको कामलाई ०६३ मा नेपाली सेनाले पूर्णताः दिएको थियो।

पदमार्ग बनेपछि बगर हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म खच्चर पुग्न थालेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =