गोरखाको ज्यामिस्वाँरामा रेशम कीराको व्यावसायिक खेती

हिमाल प्रेस ८ साउन २०८० ९:५५
28
SHARES
गोरखाको ज्यामिस्वाँरामा रेशम कीराको व्यावसायिक खेती

गोरखा– गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा रेशम कीराको खेती गरिएको छ।

गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम कीराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेशम कीराको खेती गर्न सुरु गरेको उनले बताए।

‘पालिकाले समूहलाई रेशम कीराको खेती गर्न सहयोग पुर्‍याउने उद्देश्यले फलामका र्‍याक निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ,’ शाखा प्रमुख रोकाले भने, ‘त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ।’

‘पहिलोपटक उत्पादन थाल्दा ५ किलो मात्र कोकुन उत्पादन भएको थियो,’ उनले भने, ‘यस पटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ।’

धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताए। धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी ५ हजारमा बिक्री हुनसक्ने उनको भनाइ छ।

फार्ममा यस पटक ६० हजार रेशम कीरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताए। ‘कीराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ,’ उनले भने, ‘लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ।’

कीरा राख्नुअघि घाँसको बगैंचा तयार गर्नसके महिनैपिच्छे कीरा हालेर उत्पादन लिन सकिने उनले जानकारी दिए।

‘रेशम कीरा पाल्नका फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ,’ उनले भने, ‘घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ।’

करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भए पनि बाँकी जमिनमा मल पुर्‍याउन नसक्दा घाँस राम्रो उत्पादन गतिलो हुन नसकेको उनको भनाइ छ।

समूहले रेशम कीराको व्यावसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको उनले जानकारी दिए।

‘अब हुने उत्पादन यो दोस्रो पटक हो, पहिलोपटक अनुभव नहुँदा राम्रो आम्दानी लिन सकिएन,’ उनले भने, ‘यसपटक भने धेरै न ज्ञान प्राप्त भएको छ अब राम्रो हुन्छ भन्ने विश्वास छ।’

रेशम कीराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उनको भनाइ छ।

‘विद्यार्थी बारम्बार रेशम कीराको खेती हेर्न आउँछन्,’ उनले भने, ‘विद्यार्थी आउँदा कोकन काट्ने, पानीमा राखेर धागो निकाल्नका सिक्ने अवसर पनि यहाँबाट पाएका छन्।’

बिग्रिएका कोकुन विद्यार्थीलाई सिक्नका लागि प्रयोग हुँदै आएको उनले बताए।

उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उनले जानकारी दिए।

‘हामीले उत्पादन गरे पनि समयमा बिक्री नहुँदा कोकनको तौल घट्ने गर्दछ,’ उनले भने, ‘भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै गर्ने भएकाले समस्या हुने गरेको छ।’

यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०/३५ केजी अनुमान गरिएको कोकुन घटेर ८ केजी मात्र भएको उनले दु:खेसो गरे। गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित: ८ साउन २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =