लहान अस्पतालमा रेबिज विरुद्धको खोप अभाव

हिमाल प्रेस ६ साउन २०८० १९:४२
8
SHARES
लहान अस्पतालमा रेबिज विरुद्धको खोप अभाव सांकेतिक तस्बिर।

लहान- सिरहाको लहान नगरपालिका-७ का पुष्पराज बनैँता शुक्रबार रेबिज विरुद्धको खोपको तेस्रो डोज लगाउन लहान प्रादेशिक अस्पतालमा पुगे। तर अस्पतालले खोप सकिएको बताएपछि उनी निजी क्लिनिकमा महँगाे शुल्क बुझाएर खोप लगाउन बाध्य भए।

अस्पतालमा पछिल्लो ९ दिनयता रेबिज विरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महँगाे शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्। उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन्। रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ।

खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ। प्रतिडोज पाँच सय रुपैयाँ पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले दुई हजार रुपैयाँसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए। ‘दैनिक औसतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन,’ उनले भने, ‘हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ। तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ।’

प्रदेशबाट छिट्टै खोप प्राप्त हुने आश्वासन पाएको उनकाे भनाइ छ। अस्पतालका अनुसार रेबिज विरुद्धको खोप लगाउने बिरामीको संख्या हाल दुई सयभन्दा बढी छ। ‘लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्छ। कसैको एक त कसैको दुई डोजमात्रै लागाएको छ,’ उनले भने, ‘छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ।’ कुकुर, बिरालो, बाँदरलगायत जनावरले टोकेका दैनिक औसत ५० जना उपचारका लागि अस्पताल आउने गरेको उनकाे भनाइ छ। रासस

प्रकाशित: ६ साउन २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =