कास्कीमा लम्पी स्किन विरुद्धको खोप लगाइँदै

हिमाल प्रेस १ साउन २०८० ११:४७
6
SHARES
कास्कीमा लम्पी स्किन विरुद्धको खोप लगाइँदै फाइल तस्बिर। हिमाल प्रेस

कास्की– पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ।

महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा खोप लगाउन सुरु गरिएको हो।

पोखरा महानगरपालिका र ४ वटा गाउँपालिका रहेको कास्कीमा सबै पालिकामा गरी हालसम्म १२ हजार ८ सय ५० गाई, भैंसी र गोरुलाई लम्पी स्किनको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ।

केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताए।

‘अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्पीका लागि बजेट र खोपको व्यवस्था थिएन। असारको अन्तिम साता आएर बल्ल बजेट व्यवस्था भए पनि खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेका हौं,’ उनले भने।

महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरूले आफैँले खोप किनेर समेत पशुमा लगाएका थिए। प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोपका लागि १० लाख बजेट जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको थियो।

जिल्लामा हालसम्म १३ हजार तीन सय ७ गाई गोरु र तीन सय ३१ भैंसी पशु लम्पी स्किनबाट संक्रमित भएकामा ४ सय २९ को गाई गोरुको मृत्यु भएको छ।

भैंसी भने संक्रमबाट मरेका छैनन्। पोखरा महानगरपालिकामा सबैभन्दा बढी पशु संक्रमित छन्।

पोखरामा १० हजार २ सय ४२ गाई गोरु र २ सय ७१ भैंसी संक्रमित भएको केन्द्रका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए।

माछापुच्छ्रे गाउँपालिकामा १ सय ५० गाई गोरु र १२ भैंसी, अन्नपूर्णमा गाई २ सय १९ र भैंसी सात, रूपामा १ हजार ७ सय ८२ गाई र गोरु तथा एक भैंसी र मादीमा नौ सय १४ गाई र ४७ भैंसी लम्पीबाट संक्रमित भएको कार्यालयले जनाएको छ।

हालसम्म पोखरा महानगरमा ६ हजार ५ सय, माछापुच्छ्रेमा ३ हजार ६ सय, अन्नपूर्णमा १ हजार ४ सय ५० र रूपामा १ हजार ३ सय गाई, भैंसीमा खोप लगाइएको पौडेलले बताए।

लम्पी स्किन गाई भैंसीलाई हुने संक्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

रोगबाट संक्रमित गाई भैंसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्छ।

प्रकाशित: १ साउन २०८० ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =