सात वर्षपछि बन्याे नलगाड जलविद्युत्‌को डीपीआर

हिमाल प्रेस ६ साउन २०८० १५:०४
8
SHARES
सात वर्षपछि बन्याे नलगाड जलविद्युत्‌को डीपीआर नलगाड नदी।

जाजरकोट- नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन तयार भएको छ। सम्झाैताअनुसार ३१ महिनाभित्र पूरा गर्नुपर्ने उक्त प्रतिवेदन सात वर्षपछि तयार भएको हो।

अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीसँग २०७३ मा ३१ महिनाभित्र डीपीआर तयार गर्ने सम्झाैता गरिएकाे थियाे। ती कम्पनीहरूले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डीपीआर बनाउने ठेक्का पाएको थियो।

नियमानुसार विस २०७६ मा नै डीपीआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाका निर्देशक सुनिल पौडेलले जानकारी दिए। परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इञ्जिनियर्स एसोसिएसन (एनइए) लाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डीपीआरको काम पूरा भएको उनले बताए।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटकपटक म्याद थपेर ताकेता गरेपछि डीपीआर प्रतिवेदन तयार भएको पौडेलको भनाइ छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लाई पूर्णता दिन ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको उनले बताए।

वन मन्त्रालयले सातदिने सू्चना निकालेर पालिका तथा स्थानीय स्तरमा रहेका वन समूहसँग राय, सुझाव माग्ने तयारी भइरहेको आयोजनाका निर्देशक पौडेलले जानकारी दिए। ‘उक्त सुझावलाई एक समिति बनाई निष्कर्ष निकालिनेछ। डीपीआर र ईआईएको सबै काम अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले गरिरहेका छन्,’ उनले भने।

डीपीआर प्रतिवेदन प्राप्त भएसँगै नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका) सँग सकारात्मक छलफल भएको पौडेलले बताए। उनका अनुसार लगानीका लागि जाइका तयार भएपछि सम्झौताको तयारी थालिएको छ।

छिटोभन्दा छिटो सम्झौता गर्ने तयारी भइरहेको भन्दै पौडेलले चार सय १७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार लगानी जुटाउने प्रयास गरिएको बताए।

उनका अनुसार सुरुआतदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो। विभिन्न चरणमा सरकारकोतर्फबाट जापान सरकारसँग लगानीका विषयमा छलफल भइरहेको भन्दै निर्देशक पौडेलले लगानी सुनिश्चित हुनेगरी पहिलो प्राथमिकता जाइकालाई दिइएको बताए। ‘अहिले ईआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ। ईआईए स्वीकृत हुनेबित्तिकै आयोजना निर्माण प्रक्रियामा लैजाने गरी तयारी थालिएको छ,’ उनले भने, ‘त्यसका लागि लगानी जुटाउन पहल भइरहेको छ। आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब रुपैयाँ लागत  अनुमान छ।’

वातावरणीय व्यवस्थापनमा अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ। उक्त आयोजना निर्माण साढे ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनाको बाँध भरिँदा चार सय ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ।

आयोजनाका अनुसार उक्त आयोजना निर्माणस्थल समुन्द्री सतहदेखि एक हजार पाँच सय ८० मिटरसम्मको उचाइमा पुग्नेछ। यहाँ पाँच सय ४५ मिटर चौडाइ र दुई सय १० मिटर अग्लो जलाशय बन्नेछ। आठ हजार तीन सय मिटर लामो भूमिगत सुरूङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख गरिएको छ।

आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने, वातावरणीय संरक्षण नियम, २०५४ लाई ध्यान दिनुपर्ने र स्थानीय स्रोत/साधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिँदै काम अगाडि बढाउनुपर्ने सरोकारवालाको भनाइ छ।

आयोजनाबाट नलगाड नगरपालिका-५ र ७, बारेकोट गाउँपालिकाका-१, २, ५, ६, ७ र ८ वडा प्रभावित हुनेछन्। ‘आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र सात लाख १७ हजार टन कार्बन उत्सर्जन कटौती हुनेछ,’ आयोजनाका निर्देशक पौडेलले भने, ‘आयोजना निर्माणसँगै क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास एवं विस्तार, रोजगारीका अवसर सिर्जना, व्यापार व्यवसायको अवसर वृद्धिलगायत काम हुनेछ।’ रासस

प्रकाशित: ६ साउन २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =