पुस्तक चर्चा

नलेखिएको कथा ‘अन्तर’

विवेक विवश रेग्मी ६ साउन २०८० १६:३४
286
SHARES
नलेखिएको कथा ‘अन्तर’

‘सबैलाई आफ्नो दुःख सगरमाथा हो, अरूकोे दुःख चुरेपहाड पनि होइन भन्ने लाग्छ। आफ्नो दुःखका लागि मान्छे लड्छ। महिला, महिलाको दुःखका लागि लडिरहेका छन्। म मेरो दुःखका लागि लडिरहेको छु। पुरुष, पुरुषको दुःखका लागि लडिरहेको छ। जसको दुःखले जित्छ, त्यो समाजमा देखिन्छ। जसको दुःखले हार्छ, त्यो समाजमा दबिन्छ।’

लेखक रमेश सायनको गत साता बजारमा आएको उपन्यास ‘अन्तर’ पढिसकेपछि लेखकले भनेजस्तै समाजमा रहेका अनेकन् चित्रहरूको झझल्को आयो। ती चित्रहरू कोही नभएरै मान्छे नै हुन्। तर उनीहरू मान्छेजसरी बाँच्न पाइरहेका छैनन्। उनीहरू ‘म को हुँ, म के हुँ’ भनेर न बोल्न सक्छन्, न व्यक्त गर्न नै। व्यक्त गरिहाले पनि समाजमा मान्छेजसरी बाँच्न भने पाउँदैनन्, पाइरहेका हुँदैनन्।

पछिल्लो एक महिनायता लेखक सायनको उपन्यास ‘अन्तर’ पर्खाइमा थिएँ। एक महिनाअघि नै सामाजिक सञ्जालमार्फत किताब आउने जानकारी पाइयो। प्रकाशक बुकहिलका सञ्चालक भूपेन्द्र खड्काले खगेन्द्र लामिछानेको ‘फुर्के’ उपन्यासको चर्चा हुँदा यसअघि इटहरीमै ‘अन्तर’को आवरण सार्वजनिक गरिसकेका थिए। म पनि त्यसको प्रत्यक्षदर्शी हुन पाएको थिएँ।

असार ३० गते काठमाडौँको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिंगी लेक्स लिम्बूसहित लेखक रमेश सायन र सञ्चारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे।

भोलिपल्ट इटहरीको सुनवर्षी बुक हाउसका शिव रेग्मी (गोविन्दपुरे) कहाँ किताब किनेँ र २३८ पेजको ‘अन्तर’ दुई दिन लगाएर पढिसकेँ।

‘अन्तर’मा लेखक सायनले फरक विषय उठान गरेका छन्। जसले समाजमा यो कृतिले नयाँ आयाम दिनेछ। लेख्नैपर्ने तर नलेखिएको ‘अन्तर’भित्र सायनले समाजमा धेरैजसो मानिसले बाँचिरहेको, भोगिरहेको र नियालिरहेको परिवेशलाई उठान गरेका छन्।

एक दिन यस विषयमा किताब लेखिनैपथ्र्यो। यस्ता विषयमा लेखिएकै भए पनि उपन्यास भने लेख्न बाँकी थियो। लेखकले समलिंगीका विषयमा उपन्यास लेखे, यो सुखद पक्ष हो।

‘अन्तर’मा लेखकले शब्दलाई मुख्य पात्र बनाएका छन्। उनै शब्दको कथा हो, ‘अन्तर’। किताबको सहायक पात्रहरूमा बा, आमा, अमन, अनुजा, अम्बिका, बलदेवजस्ता पात्र छन्। जसमध्ये शब्दलाई बुझ्न नसकेका बा, आमासहितका अरू साथीहरूले भन्दा अमनले उसको पीडा बुझ्छ। बालापनदेखिकै साथी समलिंगी भएको थाहा पाए पनि उसले घृणा गर्दैन, समाजमा पहिला जसरी साथी रूपको व्यवहार गथ्र्यो, त्यही किसिमको गरिरहेको छ। पुस्तकमा आधाजति बालापन नै दोहोर्‍याइरहे पनि शब्द सहर छिरेपछि खास कथा सुरु हुन्छ।

‘सहर पनि गाउँजस्तै रहेछ। तर गाउँमा जता गए पनि हालखबर सोध्ने मान्छे हुन्छन्। सहरमा आफ्नो खबर आफैँले भन्दै हिँडे पनि सुन्ने मान्छे नहुँदा रहेछन्। गाउँका मान्छे हृदयले सुन्छन्, दिमागले हेर्छन्। सहरका मान्छे कानले सुन्छन् तर हृदय बन्द गर्दारहेछन्। आँखाले देख्छन् तर मगज बन्द गर्दा रहेछन्।’

सहरमा एक्लो भएका बेला शब्द अनेकन् पटक सोचिरहन्छ। आफू समलिंगी भएको थाहा पाएपछि ऊ कहिले भावनात्मक बन्छ, कहिले एक्लै पशुपति जान्छ त कहिले पासो नै लगाउन खोज्छ। फेरि हृदयले उसलाई त्यसो नगर्न भन्छ र पुनः नयाँ जिन्दगी बाँच्ने संकल्प गर्छ। यसरी अनेकन् पटक हरेक चोट, प्रहार र तृष्णा सहँदै शब्द आफ्नो जिन्दगी, आफ्नै तरिकाले जिउने प्रयास गरिरहन्छ।

सहर पस्दाताका पहिलोपटक चिनेको, सहरमा पहिलोपटक घुलमिल गर्न सिकाएको र यहाँको रहनसहनमा बिस्तारै भिज्न सिकाउने बलदेव नामको साथीलाई शब्दले समलिंगी भएको सुनाउँछ। लामो संगत, लामो कुराकानी, लामो यात्रापछि मात्रै उसले आफूभित्रको अर्को मानिसबारे सुनायो।

सम्बन्ध विश्वास त हो, त्यो विश्वास तोडे बलदेवले। जसकारण आफ्नै साथीहरूबाटै अपहेलित बन्नुपर्‍यो। त्यही समयदेखि फेरि विक्षिप्त बनेको ऊ कहिले जोगीकहाँ, उसैसँगको यात्रा त कहिले एक्लै, एक्लै यात्रा गर्न थाल्यो। आफू समलिंगी बनेको थाहा पाएपछि एक्लै भएको शब्दले म के हुँ, र को हुँ भन्ने जान्न निकै समय कुुर्नुपर्यो। कतिपटक अन्धकारमै समय बिताउनुपर्यो।

एकपटक बाको जिद्दीमा ऊ घर गयो। घर गएको समयमा जसरी पनि बिहे गर्नेपर्ने कुरा आयो। बाको कुरा इन्कार गर्न नसकेपछि शब्द बासँगै केटीको घर गयो। विवाह गर्नका निम्ति दुवै परिवार तयार पनि भए। तर केटाकेटीबीच कुराकानी गर्न पठाउँदा शब्द न केटीसँग बोल्न सक्यो, न त केटी नै बोली। केहीबेरको मौन संवादपछि भने शब्द कोठाबाट बाहिर निस्क्यो र एउटा निर्णय गर्‍यो। लगत्तै भन्यो, ‘हामीले एकअर्कालाई बुझेका छैनौँ। फेरि भेटेर सोच्ने सल्लाह गर्‍यौँ।’

त्यहाँबाट निस्किएपछि शब्द आफ्नो बाल्यकालदेखिको मिल्ने साथी अमनलाई सम्पर्क गर्‍यो र उनीहरूबीच भेटघाट भयो। वीरगन्ज आउनुको सबै कहानी सुनेपछि उनीहरू घुम्न गए।

‘जिन्दगीमा सबै हिसाबकिताब मिलेको मान्छेलाई सबै रंगीन दुनियाँ सुन्दर लाग्छ।’

घुमघाममा अमनले रमाएको देख्दा शब्दलाई यस्तै लाग्यो। तर रमाएजसरी गर्‍यो। त्यस दिन उनीहरूको भेटले घरमा भन्न नसकेको कुरा चिठीमार्फत भन्ने निर्णय भयो र सोहीअनुरूप आफ्ना हुलाकी रहेका शब्दका बालाई आफू समलिंगी भएको र केटीसँग बिहे नगर्ने कुरा लेखियो।

चिठी लेखेको लामो समयसम्म शब्दलाई न बाको फोन आयो, न चिठी नै फिर्ता आयो।

‘बाको आशिष्मा आशिष् थोरै, सपना धेरै थियो। सपना पूरा नहुँदा मान्छे दुःखी हुन्छ।’

शब्दले भनेजसरी बाको सपना पूरा हुँदै थियो, विश्वविद्यालय उत्तीर्णको। तर आफ्नै छोरा, छोरा नभई समलिंगी बनेपछि गाउँमा रहेका बा बिरामी बनेछन्, एकोहोरिएछन्। पछि आमाको फोनबाट थाहा भयो।

एक दिन विश्वविद्यालय टप र नेपाल बैँकको जागिरमा एकैपटक नाम निस्किएपछि शब्द खुसी भयो। जसै विश्वविद्यालयले गर्ने दीक्षान्त समारोहमा परिवारमा निम्ता गरियो। परिवारबाट बा आएनन्, आमा आइन् स्कुले साथी अमनसँग।

सोही दीक्षान्त समारोहमा शब्दले आफू समलिंगी भएको कुरा मन्तव्यमार्फत व्यक्त गर्‍यो।

आमाले भनिन्, ‘तँ मेरो सन्तान होस्, तँ जे भए पनि हुन्छ मलाई।’

यसअघि सहर आउनेबित्तिकै शब्द सोच्थ्यो, ‘काठमाडौँ त आमाभन्दा पनि सबेरै उठ्दोरहेछ।’

वास्तवमा वर्षौँदेखि समाजले बुझ्न नसकेको शब्दलाई आमाले आफ्नो सन्तान जे भए पनि हुन्छ भनेपछि ऊ खुसी हुनु अस्वाभाविक रहेन। बरु उसले दुनियाँलाई जित्यो, दुनियाँलाई जित्नअघि आफूलाई जित्यो।

‘दुनियाँसँग लड्नुअघि आफूसँग लड्नुपर्छ। दुनियाँलाई जित्नुअघि आफूलाई जित्नुपर्छ’, शब्द भन्थ्यो।

त्यसो त ‘अन्तर’भित्र केही प्रश्न गर्ने ठाउँहरू बाँकी छन्। मुख्य पात्र ‘शब्द’लाई पृष्ठ नं. ५३ मै फरक अर्थात् समलिंगी रहेको पाठकले थाहा पाउनेछन्। लेखकले त्यसलाई लम्बेतान बनाएर पृष्ठ १६२ मा मात्रै समलिंगी भनेर प्रस्तुत गरे। यो लेखकको खुबी भनौँ, कि पाठकलाई जबरजस्त पढ्न बाध्य बनाइएको?

सामान्य पाठकले पनि पृष्ठ ५३ मा पुगिसक्दा शब्द फरक लिङ्गको हो भन्ने सामान्य अनुमान लगाउन सक्छ। तर पुष्टि गर्न भने अरू एक सय पृष्ठभन्दा बढी पढ्नुपर्छ।

लेखकले प्राथमिक कक्षादेखि १० कक्षासम्म पढुन्जेल र एसएलसी दिएपछिको रिजल्ट पर्खाइमै किताबको आधा भाग ओगटेका छन्। जसले पढ्नका निम्ति उनै कुरा, उनै परिवेश, उनै भोगाइ, उनै पात्र पटकपटक दोहोरिएका छन्। उही कुरा र उही पात्र दोहोरिरहे पनि त्यसबेलासम्म अन्तरले कथाको विषयवस्तु नै प्रवेश नगरेजस्तो देखियो। तर कथाको मुख्य पात्र शब्दले आफूसँगैको केटा साथी अमनलाई मन पराउनु, मौन रहेरै प्रेम गर्नु र अमनकी प्रेमिकाप्रति ईष्र्या, डाहा गर्नुले शब्द समलिंगी हो भन्ने अनुभूत गर्न भने सकिन्छ। तर उनी समलिंगी भनेर थाहा पाउन भने सहर आएको वर्षौँ पर्खिनुपर्‍यो। व्यक्त गर्न त आफू सफल हुनैपर्‍यो। विश्वविद्यालय अध्ययन र नेपाल बैँकको जागिर खानैपर्‍यो।

लेखकले पटकपटक घरमा र आफू एक्लै बस्दा पनि खुसी भएको बेला, मन रमाएको बेला खीर पकाएर खाएको कुरा दोहोर्‍याएका छन्। शब्द र खीरबीचको सम्बन्धको अन्तर पनि खोजिहेरेँ, मेसो कतै पाइएन।

यसअघि छुटेका अनुहार गैरआख्यानमा लेखकले कैयन् पटक मन जितेका छन्। गैरआख्यानमा उनले कविताजसरी शब्दलाई उनेका छन्। जसकारण पनि ‘अन्तर’को व्यग्र प्रतीक्षामा थिएँ। छुटेका अनुहारमा उनले अक्षरमा भाव उनेर लेखकले उक्त किताबमा पाठकलाई बेस्सरी जिते। सोही कारण पद्यश्री पुरस्कार समेत पायो। उनको पहिलो उपन्यास अन्तरमा पनि लेखकले ठाउँठाउँमा मन जित्ने प्रयास गरेका छन्। तर अझै पर्याप्त नभएको हो कि जस्तो अनुभूत भयो।

त्यसो त समाजमा शब्दजस्ता थुप्रै समलिंगी छन्। तर उनीहरू आफू को हुँ र के हुँ भनेर व्यक्त गर्न सकिरहेका छैनन्। शब्दजस्ता थुप्रै समलिंगीका लागि भने यो पुस्तक प्रेरणादायी बन्नेछ। बाँकी कथा बुझ्नका लागि भने किताब नै पढ्नुपर्नेछ।

प्रकाशित: ६ साउन २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =