संसदीय समितिले सभापति नपाउँदा कानुन निर्माणमा असर

हिमाल प्रेस १ साउन २०८० १३:३६
2
SHARE
संसदीय समितिले सभापति नपाउँदा कानुन निर्माणमा असर

काठमाडौँ- संसदीय समितिमा सभापति चयन हुन नसक्दा काम प्रभावित बनिरहेको छ। संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समितिले सभापति चयन हुन नसक्दा काम प्रभावित बनेको हो।

हाल बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ। निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

राजनीतिक दलले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरे पनि हालसम्म समितिले सभापति पाउन सकेका छैनन्। ‘राजनीतिक दलका शीर्ष नेताले सभापति टुंग्याउने भनिराख्नुभएको छ। तर हालसम्म पूर्णता पाएको छैन,’ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने।

समितिले सभापति नपाउँदा विभिन्न समितिमा रहेका १० विधेयकले छलफल गर्न नसकेको गिरीको भनाइ छ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा १ वटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा १ वटा, कानुन, न्याय तथा मानव अधिकार समितिमा २ वटा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा २ वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिए।

त्यसबाहेक प्रतिनिधिसभामा ६ वटा विधेयक प्रक्रियामा रहेका बताए।

उनले समिति बैठक हालसम्म गम्भीर प्रकृतिका विषयवस्तुहरूमा प्रवेश नगरेको बताए। समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उनको भनाइ छ ।

उनले कार्यपालिकाबाट सम्पादन हुने कामहरुको निगरानी संसदीय समितिले गर्ने भएकाले समितिको काम प्रभावकारी हुनुपर्नेमा जोड दिए।

प्रकाशित: १ साउन २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =