सशस्त्र प्रहरीमा १७ वर्षपछि व्यापक बढुवाकाे तयारी

हिमाल प्रेस ३१ असार २०८० २१:२४
976
SHARES
सशस्त्र प्रहरीमा १७ वर्षपछि व्यापक बढुवाकाे तयारी

काठमाडौँ- सशस्त्र प्रहरी बलले संगठनमा व्यापक बढुवाको तयारी गरेको छ। आइतबार सूचना सार्वजनिक गर्दै वरिष्ठ उपरीक्षकदेखि सहायक हवल्दारसम्म बढुवाको तयारी रहेको जानकारी गराएको हो।

सार्वजनिक सूचनाअनुसार सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायब उपरीक्षक, निरीक्षक, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाको तयारी छ।

त्यस्तै सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाका लागि सूचना प्रकाशित गरिएको छ।

त्यस्तै लेखा उपसमूहतर्फ ५ जना र कानून उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ। आइतबार नै १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुनेछ।

त्यस्तै २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली अहिले नायब उपरीक्षक छ। सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ। त्यस्तै विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुनेछन्।

खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालयका अधिकार पनि बढुवाका लागि खुसी भएकाले ठूलो संख्यामा बढुवाको तयारी गरिएको सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। यससँगै विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको प्रवक्ता थापाको भनाइ छ।

प्रकाशित: ३१ असार २०८० २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =