चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्‍चालन

हिमाल प्रेस २९ असार २०८० १२:३९
10
SHARES
चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्‍चालन

काठमाडौँ– चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ।

दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो सर्किट निर्माण गरिएको हो।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भएर बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरिया सबस्टेसनमा प्रसारण लाइन जोडिएको छ। प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट ०७३ सालदेखि सञ्चालनमा थियो।

कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचना बनाइएकोमा आयोजनाले एउटामात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो।

नेपाल सरकारको करिब ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

दार्चुला, बझाङ नदी करिडोरमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाकारी दिए।

अब त्यस क्षेत्रमा उत्पादित २५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ। यो प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब ११० मेगावाट विद्युत् जोडिएको छ।

निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ।

बलाँच सबस्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ।

त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ। स्याउले सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =