त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशमा पनि बिजुली बिक्री

हिमाल प्रेस २२ पुष २०८० १३:४५
4
SHARES
त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशमा पनि बिजुली बिक्री

काठमाडौँ– नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौतामार्फत नेपालमा उत्पादित बिजुली बंगलादेशमा निर्यात हुने भएको छ। नेपाल र भारतबीच चाहिँ भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको अवसरमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएको हो।

भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ। भारतको विद्युत् आयात निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिट्टै त्रिपक्षीय सम्झौता गर्ने तयारी भइरहेको छ।

यसका लागि त्रिदेशीय साझेदारीका लागि आवश्यक संयन्त्र स्थापना हुनेछ। सोही संयन्त्रले नेपालबाट विद्युत् निर्यातका लागि आवश्यक निर्णय गर्नेछ।

बंगलादेशले नेपालबाट बिजुली लैजानका लागि आवश्यक नीतिगत निर्णय गरिसकेको छ। त्यहाँको मन्त्रिपरिषद्ले पनि आवश्यक व्यवस्थाका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ।

बंगलादेशले ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छासमेत व्यक्त गरेको छ। बंगलादेशले सन् २०४० सम्म १० हजार मेगावाट बराबरको बिजुली लैजान सैद्धान्तिक प्रतिबद्धता जनाएको छ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली लैजान यसअघि नै बंगलादेश सहमत भएको थियो। यद्यपि यो आयोजनाको प्रवद्र्धक जीएमआर कम्पनीले हालसम्म कुनै काम गरेको छैन। सरकारले यो आयोजनाको म्याद शर्तसहित दुई वर्षका लागि थप गरेको भए पनि प्रगति देखिएको छैन।

प्रकाशित: २२ पुष २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =