हलिउडमा हड्ताल

हिमाल प्रेस २९ असार २०८० १२:२०
12
SHARES
हलिउडमा हड्ताल

काठमाडौँ- हलिउड कलाकारहरूको प्रतिनिधित्व गर्ने संघले बिहीबार औपचारिक रूपमा हडतालको घोषणा गरेको छ। हलिउडका कामदार र स्टुडियोका अधिकारीबीच ज्याला, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र नयाँ डिजिटल स्ट्रिमिङलगायत विषयमा विवाद चलिरहेको छ।

त्यसका लागि हलिउडका लेखक दुई महिनायता हड्तालमा छन्। त्यसमा अब उनीहरूले कलाकारको पनि साथ पाउने भएका  छन्। ‘द स्क्रिन एक्टर्स गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट’ले हड्तालमा सामेल हुने औपचारिक घोषणा गरेको छ। जसमा १ लाख ६० हजारभन्दा बढी कलाकार र रेडियो प्रस्तोता आबद्ध छन्।

बुधबार एक्टर्स गिल्ड र फिल्म र टीभी निर्माताहरूको संघ ‘अलाइन्स अफ मोसन पिक्चर एन्ड टेलिभिजन प्रोडुसर्स’ बीच कुराकानी भएको थियो। तर कुनै सम्झौता हुन सकेन।

हड्तालका कारण हलिउड निर्माण र प्रसारणमा नराम्रो असर पर्ने धेरैको भनाइ छ। लेखक संघ मेदेखि हड्तालमा छ। सन् १९६० पछि पहिलोपटक फिल्म र टीभी उद्योगका दुई कर्मचारी संगठन सँगै हड्तालमा जुटेका छन्। उनीहरूले काम रोक्ने निर्णय गरेका छन्।

हलिउड अभिनेत्री मेरिल स्ट्रिपले पनि हड्तालका समर्थन गरेकी छन्। अभिनेत्री जेनिफर लरेन्सले पनि त्यसमा सहभागी हुने बताएकी छन्। यसअनुसार हलिउड कलाकार कुनै पनि फिल्मको प्रमोसनमा सहभागिता जनाउने छैनन्।

बढ्दो महँगीलाई मध्यनजर गरी स्ट्रिमिङ कम्पनीहरूले कलाकारको पारिश्रमिक बढाउने पर्ने माग एक्टर्स गिल्डको छ। साथै कलाकारहरूलाई फिल्ममा एआई प्रयोगमा पनि आपत्ति छ। केही दिनअगाडि हलिउड अभिनेता सेन पेनले फिल्ममा एआईको प्रयोग अनुचित रहेको ठहर गरेका थिए।

हड्तालका कारण यस वर्षको एमी अवार्ड पछि सर्न सक्छ। त्यस्तै अन्तर्राष्ट्रिय हास्य पुस्तक सम्मेनल ‘सान डिएगो कमिक कन’ पनि प्रभावित हुन सक्छ।

प्रकाशित: २९ असार २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =