टुंगियो हलिउड हडताल

हिमाल प्रेस ११ असोज २०८० १४:०४
4
SHARES
टुंगियो हलिउड हडताल

काठमाडौँ- हलिउडका लेखक तथा कलाकार पाँच महिनायता हडतालमा थिए। ‘राइटर्स गिल्ड अफ अमेरिका (डब्ल्युजीए)’ले मंगलबार हडताल सकिएको घोषणा गरेको छ। डब्ल्युजीएले मोसन पिक्चर र टेलिभिजन निर्माताहरूको गठबन्धनसँगको अस्थायी सम्झौतामा सहमति जनाएपछि अहिलेका लागि हडताल अन्त्य गर्ने घोषणा गरेको हो। हडताल १४८ दिनसम्म चल्यो।

आइतबार डब्ल्युजीएले स्टुडियोका अधिकारीहरूसँग अस्थायी न्यूनतम आधारभूत सम्झौतामा पुगेको बताएको थियो। वार्तापछि हडताल टुंगियोको घोषणा भएको छ।

हलिउडका लेखक मे महिनादेखि हडतालमा थिए। त्यसको दुई महिनापछि उनीहरूले कलाकारहरूको पनि साथ पाएका थिए। लगभग ६ दशकमा हलिउडमा पहिलोपटक यस्तो आन्दोलन भएको हो।

ज्याला, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र नयाँ डिजिटल स्ट्रिमिङलगायत विषयमा त्यहाँका कामदार र स्टुडियोका अधिकारीबीच विवाद भएको थियो। हलिउड कलाकारहरूको संगठन ‘द स्क्रिन एक्टर्स गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट (स्याग-आफ्ट्रा) र राइटर्स गिल्ड अफ अमेरिका (डब्ल्यूजीए)ले संयुक्त रूपमा हडताल गरेका थिए। लेखक र कलाकार गरी लाख ७५ हजार हलिउडकर्मी धर्ना र हडतालमा थिए।

आन्दोलनकै कारण फिल्मका प्रमोसन कार्यक्रम, अवार्ड समारोहलगायत पछाडि धकेलिए। हडतालको असर प्रोडक्सन हाउसमा देखिन थाल्यो। कतिपय टेलिभिजन श्रृंखलाको प्रसारण रोकियो। प्रोडक्सन हाउस बन्द भए। कलाकारहरूले पनि नयाँ शो र फिल्म गुमाउँदै गए। कतिपयले यसलाई हलिउडमा ‘नयाँ महामारी’को संज्ञा पनि दिएका थिए।

प्रकाशित: ११ असोज २०८० १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =