इजरायलका लागि दुःखी हलिउड कलाकार

हिमाल प्रेस २३ असोज २०८० १५:२९
8
SHARES
इजरायलका लागि दुःखी हलिउड कलाकार

काठमाडौँ- इजरायल-हमास युद्धमा हलिउड कलाकारले इजरायलको समर्थन गरेका छन्। समर्थन गर्नेमा गल गडोट, म्याडोना, नताली पोर्टम्यान, एन्डी कोहेन, जेमी ली कर्टिस, डेब्रा मेसिङ, एमी शुमर, सारा सिल्भरम्यान, क्रिस जेनरलगायत सेलिब्रेटी छन्। उनीहरूले सामाजिक सञ्जालमा इजरायलप्रति समर्थन जनाउँदै पोस्ट गरिरहेका छन्।

‘म इजरायलको साथमा छु, तपाईंले पनि समर्थन गर्नुपर्छ,’ गल गडोटले सामाजिक सञ्जालमा लेखेकी छन्। ‘वन्डर वुमन’की यी अभिनेत्री इजरायली हुन्। सन् २००४ मा उनले ‘मिस इजरायल’को उपाधि पनि जितेकी थिइन्। आफ्नो देश आक्रमणमा परेयता उनले सामाजिक सञ्जालमा दिनहुँ केही न केही युद्धबारे पोस्ट गरिरहेकी छिन्। ‘यस्ता भयानक आतंककारी काम भइरहँदासम्म संसारमा शान्ति हुनेछैन,’ उनले थप लेखेकी छन्।

म्याडोनाले आफ्नो इन्स्टाग्राममा युद्धरत इजरायलको एउटा भिडियो सेयर गरेकी छन्। ‘यो दृश्य हृदयविदारक छ,’ उनले लामो क्याप्सन लेखेकी छन्, ‘कल्पना गर्नुहोस् यदि तपाईंमाथि यस्तो भएको भए, के गर्नुहुन्थ्यो? म इजरायलको पक्षमा छु। ध्वस्त भएका परिवार र घर। हराएका बालबालिका। मारिएका निर्दोष। द्वन्द्वबाट पीडित हुने सबैप्रति संवेदना प्रकट गर्दछु। उनीहरूका लागि प्रार्थना गर्दैछु।’

काइली जेनरले पनि सोसल मिडियामा एउटा तस्बिर साझा गरेकी थिइन्। इजरायली झण्डा भएको तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, ‘अब र सधैँ, हामी इजरायल जनताको साथमा छौँ।’ इजरायलको समर्थन गरेपछि उनको इन्स्टाग्राममा प्यालेस्टिनी समर्थकहरूको कमेन्टको बाढी नै आयो। त्यसपछि उनले सो पोस्ट हटाएको अमेरिकी मनोरञ्जन पत्रिका ‘भेराइटी’ले जनाएको छ। उनको इन्स्टाग्राममा लगभग चार सय मिलियन फलोअर छन्।

इजरायली-अमेरिकी अभिनेत्री नताली पोर्टम्यानले पनि आक्रमणबारे पोस्ट गरेकी छन्। ‘थोर’, ‘ब्ल्याक स्वान’, ‘क्लोजर’लगायत फिल्ममा अभिनय गरेकी नतालीले लेखेकी छन्, ‘दुःखी छु, बालबालिका, महिला र वृद्धवृद्धा आफ्नै घरबाट अपहरण भएका छन्। उनीहरूको हत्या गरिएको छ। युद्धका बर्बर दृश्यले त्रसित छु। पीडितहरूका लागि प्रार्थना गर्दैछु।’

प्यालेस्टिनी विद्रोही समूह हमासले अक्टोबर ७ (शनिबार)मा इजरायलमाथि आक्रमण गर्यो‍। अहिलेसम्म हजारौँ रकेट प्रहार गरेको छ। आक्रमणमा परी सयौँ इजरायलीले ज्यान गुमाएका छन्। एक सयभन्दा बढी नागरिक अपहरणमा परेका छन् र बन्धक बनाइएका छन्।

प्रकाशित: २३ असोज २०८० १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =