हलिउड हडतालका कारण एमी अवार्ड पर सर्यो‍

हिमाल प्रेस १४ साउन २०८० १४:४५
8
SHARES
हलिउड हडतालका कारण एमी अवार्ड पर सर्यो‍

काठमाडौँ- विश्वका प्रतिष्ठित अवार्डमध्ये एक ‘एमी अवार्ड’ हलिउडमा चलिरहेको हडतालका कारण प्रभावित भएको छ। टेलिभिजन संसारको सबैभन्दा ठूलो अवार्डको मिति सरेको छ।

आगामी सेप्टेम्बर १८ मा हुने भनिएको अवार्ड यो वर्ष नहुने समाचार बेलायती पत्रिका ‘द गार्जियन’ले प्रकाशित गरेको छ। हलिउडका लेखक, कलाकारलगायत अन्य र स्टुडियोका अधिकारीबीच ज्याला, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र नयाँ डिजिटल स्ट्रिमिङलगायत विषयमा विवाद चलिरहेको छ। त्यस कारण हलिउडकर्मी दुई महिनायता हडतालमा छन्।

हलिउडको ‘राइटर्स गिल्ड अफ अमेरिका’ र ‘द स्क्रिन एक्टर्स गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट’को हडतालको असर अब फिल्म उद्योगदेखि यस क्षेत्रसँग जोडिएका विभिन्न कार्यक्रममा पर्न थालेको छ। ७५ औँ संस्करणको एमी अवार्डको मिति सर्नु पनि हडतालकै प्रभाव हो। ‘लस एन्जलस टाइम्स’का अनुसार अवार्ड समारोह अब सन् २०२४ मा हुनेछ।

हडतालका कारण थुप्रै फिल्मको काम रोकिएको छ। प्रोडक्सन हाउसमा हडतालको असर त्यस्तै परेको छ। कतिपय टेलिभिजन श्रृंखलाको प्रसारण रोकिएको छ। प्रोडक्सन हाउस बन्द भएका छन्। हडताल यसै गरी जारी नै रह्यो भने आउने समयमा यसले हलिउडको मनोरञ्जन क्षेत्रमा गहिरो असर पार्न सक्ने धेरैको भनाइ छ।

अमेरिकाको साप्ताहिक मनोरञ्जन पत्रिका ‘भेराइटी’का अनुसार दुई दशकमा पहिलोपटक एमी अवार्ड स्थगित भएको हो। यसअघि सेप्टेम्बर ११ २००१ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टर भएको आतंकवादी आक्रमणका कारण पनि अवार्ड धकेलिएको थियो। त्यो वर्ष नोभेम्बरमा अवार्ड समारोह आयोजित गरिएको थियो।

प्रकाशित: १४ साउन २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =