विवादमा तानियो ‘ओपनहाइमर’

हिमाल प्रेस १५ साउन २०८० १३:४०
2
SHARE
विवादमा तानियो ‘ओपनहाइमर’

काठमाडौँ- हलिउड फिल्म ‘ओपनहाइमर’ले विश्वभरि हलचल ल्याएको छ। संसारभरका सिनेमा हलमा चलिरहेको यो फिल्म भारतमा भने विवादमा तानिएको छ। फिल्म परमाणु बमका पिता मानिने रोबर्ट ओपनहाइमरको जीवनमाथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमेथियस’मा आधारित छ।

जुलाई १६ मा अमेरिकाको न्यु मेक्सिको राज्यको मरुभूमिमा ओपनहाइमरद्वारा बनाइएको परमाणु बमको परीक्षण भएको थियो। बम विस्फोटनपछिमात्र उनले त्यसबाट हुन सक्ने क्षतिबारे थाहा पाए। त्यसअघि त्यसको परिणामबारे ओपनहाइमर पनि अनभिज्ञ थिए।

उनी पवित्र हिन्दू धर्मग्रन्थ भगवत् गीताका अध्येयता रहेको किताबमा उल्लेख छ। विस्फोट भएपछि उनले गीताको एउटा श्लोक भनेका थिए, ‘नाउ आई एम बिकम डेथ, द डिस्ट्रोयर अफ द वर्ल्ड’ अर्थात् ‘म काल बनेको छु, संसारको विनाशकर्ता बनेको छु।’

हिन्दूहरूको धर्मग्रन्थ गीताको नाम जोडिएको फिल्ममा केही ‘आपत्तिजनक’ दृश्य रहेको भन्दै भारतमा त्यसबारे विवाद चुलिएको छ। गत शुक्रबार प्रदर्शनमा आएदेखि भारतीयले यसको विरोध गर्दै आएका छन्।

एक दृश्यमा यौनसम्पर्क गरिरहेको बेला गीताको श्लोक भनिरहेको देखाइएको र त्यसै दृश्यका कारण भारतीय आक्रोशित भएको ‘हिन्दुस्तान टाइम्स’ले जनाएको छ।

यसै दृश्यमा भारतको केन्द्रीय सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले पनि आपत्ति जनाएका छन्। त्यसबारे उनले कडा धारणा राखेका छन्। मन्त्रीले आपत्तिजनक दृश्यको जवाफमा सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) बाट स्पष्टीकरण मागेका छन्। ती आपत्तिजनक दृश्यलाई फिल्मबाट तुरुन्त हटाउने आदेश मन्त्री ठाकुरले सेन्सर बोर्डलाई दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो सँगै जिम्मेवार अधिकारीहरूमाथि कारबाहीसमेत हुन सक्छ।

भारतमा फिल्मविरुद्ध सामाजिक सञ्जालमा अभियान चलेको छ। केही हिन्दू संगठनले विरोध गरेका छन्। उनीहरूले ‘ओपनहोइमर’लाई हिन्दुत्वमाथि आक्रमण बताएका छन्।

भारतको ‘सेभ कल्चर सेभ इन्डिया फाउन्डेसन’ले ट्विटरमा विज्ञप्ति जारी गरेको छ। जसमा लेखिएको छ, ‘हामी छक्क छौँ, सेन्सर बोर्डले कसरी यस्ता दृश्यका साथमा फिल्म प्रदर्शन गर्ने अनुमति दिन सक्छ।’

प्रकाशित: १५ साउन २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =