अतिक्रमित जग्गा खोज्दै वीरगन्ज

हिमाल प्रेस २५ असार २०८० ११:५३
2
SHARE
अतिक्रमित जग्गा खोज्दै वीरगन्ज
वीरगन्ज- अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगन्ज महानगरपालिकाले  २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ।
महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगन्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा रहेका २८ सार्वजनिक पोखरी तथा १४८ बिघा सार्वजनिक जग्गा महानगरको अधिनमा ल्याउन सफल भएको हो।
अभियानका क्रममा वडा नम्बर १७ मा आठ , वडा नम्बर २६ मा चार , वडा नम्बर १८, २०, २४, २८, २९ र ३० नम्बर वडामा दुई/दुई र वडा नम्बर १९ र २३ मा एक/एक सावर्जनिक पोखरी महानगरपालिकाको नाममा लगत कायम गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडलेले जानकारी दिए।
सार्वजनिक पोखरी रहेको १९ बिघा सात कट्ठा जग्गा पहिचान गरी महानगरपालिकाको अधिनमा ल्याइएको उनले बताए। महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, पार्क, मठ मन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूला ठूला भौतिक संरचनासँगै खेतबारीको रूपमा उपभोग गर्दै आएका छन्।
महानगरको विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रूपमा उपभोग गर्ने, सार्वजनिक पोखरी व्यक्तिरूपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाउँदै आएको छ।
अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ।
‘महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्’, वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने,‘पहिलो चरणमा प्राविधिक टोलीले सार्वजनिक जग्गा खोज्ने र त्यसपछि पहिचान भएको सार्वजनिक जग्गा खाली गराएर आफ्नो स्वामित्वमा ल्याउने कार्य जारी राखेका छौँ।’
यसैक्रममा वर्षौँदेखि स्थानीयले उपभोग गर्दै आएको सार्वजनिक पोखरी हामीले फिर्ता ल्याउन सफल भएका छौँ, उनले भने।
तीन महिनादेखि सुरु गरेको सार्वजनिक जग्गा खोज्ने क्रममा अहिलेसम्म करिब एक सय ४८ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगर आफ्नो अधिकनमा ल्याउन सफल भएको छ।
‘हामीले छोटो समयमै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराएर सफलता प्राप्त गरेका छौँ’, नगर प्रमुख सिंहले भने, ‘अतिक्रमणमा परेको यति धेरै जग्गा हामीले शान्तिपूर्ण रुपमा आफ्नो अधिनमा ल्याउन सक्यौ।’
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेपछि स्थानीयले पनि राम्रो साथ दिइरहेको जनाएको छ।
प्रकाशित: २५ असार २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =