दक्ष शिक्षक नियमित शिक्षण : बढ्न थाल्यो सामुदायिक स्कुलमा आकर्षण

हिमाल प्रेस १४ मंसिर २०८० १०:४५
1.1k
SHARES
दक्ष शिक्षक नियमित शिक्षण : बढ्न थाल्यो सामुदायिक स्कुलमा आकर्षण विद्यालयको बिहानी प्रार्थनामा सहभागी वीरगन्जस्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माविका विद्यार्थी।

वीरगन्‍ज- सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्‍ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगन्‍जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो।

वीरगन्‍ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अंग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि नीजि विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या बढेको विद्यालयका शिक्षकले बताएका छन्।

महानगरपालिकाको पहलमा वीरगन्जस्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम प्राविधिक मावि, माईस्थान मावि, नरसिंह मावि र सिद्धार्थ माविले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन्।

‘केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो’, वीरगन्‍जस्थित त्रिजुद्ध माविका प्राधानाध्यापक नवीन मिश्रले भने, ‘तर पछिल्लो केही वर्षदेखि निजी विद्यालय छाडेर विद्यार्थी हाम्रो विद्यालयमा आउन थालेका छन्’, निजी विद्यालयकै जस्तै अंग्रेजी माध्यममा पठनपाठन र शैक्षिक गुणस्तरीयतामा सुधार ल्याएकाले विद्यार्थी र अभिभावकको हाम्रो विद्यालयतर्फ आकर्षण बढेको हो, उनको भनाइ छ।

विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन थालिएको प्रअ मिश्रले बताए। ‘पहिला पहिला यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी पढ्नै मान्दैनथे, तर अहिले सामुदायिक विद्यालयमा भर्नाका लागि तछाडमछाड चल्छ’, वीरगन्‍ज महानगरपालिका–६ का कृष्णकुमार कानुले भने, ‘त्रिजुद्ध मावि, माईस्थान माविलगायतका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अत्याधिक दबाब छ।’

पूर्वाधार विकाससँगै दक्ष शिक्षकबाट नियमित शिक्षण सिकाइ हुन थालेपछि सामुदायिक विद्यालयमा अध्ययन लागि आउने विद्यार्थीको संख्या बढ्दै गएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए।

वीरगन्‍ज महानगरपालिकाको ३२ वडामा हाल ९१ सामुदायिक र एक सय ३८ संस्थागत विद्यालय सञ्चालनमा छन् । उनका अनुसार सामुदायिक विद्यालयमा ४३ हजार पाँच सय ६४ र संस्थागत विद्यालयमा ३३ हजार चार सय २४ जना विद्यार्थी अध्ययनरत छन्।

स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि प्रयास गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताए।
विद्यलाय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाई सेतो बोर्डको व्यवस्थादेखि डिजिटल मध्यमबाट पठनपाठनको व्यवस्था गरिएको उनको भनाइ छ।

विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरिएको छ। सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन महानगरपालिकाले पछिल्लो छ वर्षमा ३० करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८० १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =