वीरगन्ज महानगरले उठायो ३६ करोड राजस्व

हिमाल प्रेस ४ वैशाख २०८१ १०:०१
वीरगन्ज महानगरले उठायो ३६ करोड राजस्व

पर्सा- वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ।

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ। महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।

वीरगन्‍ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको ९ महिनाको तुलनामा चालु आवमा दुई करोड ९५ लाख बढी राजस्व संकलन गरेको बताए।

‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ’, उनले भने। गत आवको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रुपैयाँ राजस्व संकलन भएको थियो।

वीरगन्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व संकलन गरेको थियो। त्यसैगरी महानगरले आव २०७८÷७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व संकलन गर्‍यो।

वीरगन्‍ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगन्‍ज आयोजित सार्वजनिक कार्यक्रममा वीरगन्‍ज ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए।

महानगरले चालु आव २०८०÷८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो।

विनियोजित बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो।

महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

प्रकाशित: ४ वैशाख २०८१ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =