समाजवादी मोर्चाले सबै प्रदेशमा कार्यक्रम गर्ने

हिमाल प्रेस २३ असार २०८० १९:५४
4
SHARES
समाजवादी मोर्चाले सबै प्रदेशमा कार्यक्रम गर्ने फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ। शनिबार बसेको मोर्चाको बैठकले प्रत्येक प्रदेशका राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मोर्चाको सन्देश आम जनतामाझ पु¥याउन साउन महिनाभित्रै सबै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे छलफल पनि गरिएको थियो। त्यस्तै सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय गरिएको उनले जानकारी दिए। ‘साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ,’ पाण्डले भने।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरू सहभागी थिए।

बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति तय गर्न र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल पनि गठन गरेको छ। उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए।

चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन्। कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्नेछ।

प्रकाशित: २३ असार २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =