समाजवादी मोर्चा : न औचित्य न उपस्थिति

किरण पौडेल १४ मंसिर २०८० १६:०२
18
SHARES
समाजवादी मोर्चा : न औचित्य न उपस्थिति

काठमाडौँ– घोषणा भएको ६ महिना नहुँदै समाजवादी मोर्चा औचित्यविहीन देखिएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेकपाबीच असार ४ मा मोर्चा घोषणा भएको थियो।

मोर्चामा आबद्ध माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तामा व्यस्त र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि पार्टीको आन्तरिक दबाबका कारण मोर्चाले गति लिन नसकेको नेताहरू बताउँछन्। मोर्चाको बैठक केन्द्रीय स्तरमा पाँच पटक बैठक बसे पनि निर्णायक काम गर्न सकेको छैन। पछिल्लो समय बैठक बस्नै छाडेको छ।

पार्टी नेताहरू सत्ता र पार्टी कार्यक्रममा व्यस्त रहँदा मोर्चा निष्क्रिय बनेको नेताहरू स्वीकार गर्छन्। मोर्चामा आबद्ध विप्लव नेतृत्वको नेकपाबाहेक अन्य तीनै दल संघीय सरकारमा छन्।  मोर्चाले केन्द्रीय स्तरदेखि प्रदेशस्तरसम्म कार्यक्रम पनि गरेको छ। जिल्ला र स्थानीय तहका कार्यक्रम भने त्यत्तिकै रोकिएको छ।

‘हामीले बनाएको मोर्चा केका लागि भन्ने भएन’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘एकजना मात्र भेला भएर भएन चारै दलका नेता भेला हुनुपर्छ। त्यसमा समस्या देखियो।’  प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार टिकाउन गठबन्धनभित्र उपमोर्चा खडा गरेको आरोप लागेको थियो। प्रचण्डले मोर्चामा समय नदिँदा त्यो आरोप सत्यता नजिक पुगेको ती नेताले बताए।

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनर्निर्माणमा मोर्चाको उपस्थिति शून्य रह्यो। अन्य मुद्दामा पनि मोर्चाको उपस्थिति भरोसायोग्य छैन।  ‘हामीले चाहेर पनि भूकम्प प्रभावित क्षेत्रमा काम गर्न सकेनौँ’, मोर्चामा आबद्ध दल जसपाका प्रवक्ता मनीष सुमनले हिमाल प्रेससँग भने, ‘पार्टीपार्टी मात्र दौडियौँ। मोर्चाको उपस्थिति दिनुपथ्र्यो।’

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा भने नेताहरूको व्यस्तताका कारण मोर्चाले गति लिन नसकेको बताउँछन्। उनी भन्छन्, ‘नेताहरूको व्यस्तताले बैठक नबसेको हो। अब सक्रिय बनाउनुपर्छ।’ मोर्चाभित्र धेरै किमिसका शक्ति भएकाले सामूहिक लक्ष्य किटान गर्न समय लाग्ने उनले बताए।

एकीकृत समाजवादी र माओवादीको लक्ष्य सत्ता जोगाउनमा केन्द्रित छ। उनीहरू मोर्चासहितको कांग्रेसको सरकार पाँच वर्ष टिकाउन चाहन्छन्। समाजवादीका प्रवक्ता खतिवडा भन्छन्, ‘हाम्रो लक्ष्य सरकार टिकाउने पनि हो। सत्ता टिकाएर समाजवादीमा पुग्ने लक्ष्य छ।’ विप्लव नेतृत्वको दल भने सत्तामा नभए पनि समाजवादी काममा ध्यान दिन दबाब दिइरहेको छ।

प्रचण्डको व्यस्तता

ठूलो दलको हैसियतले माओवादी केन्द्रले मोर्चालाई चलायमान बनाउनुपर्ने हो। तर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड मोर्चालाई सक्रिय बनाउन तत्पर देखिएका छैनन्।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार प्रधानमन्त्री आफैँ व्यस्त भएकाले मोर्चाको बैठक नबसेको हो। ‘अहिलेसम्म यस्तै भयो। अब अघि बढ्नुपर्छ’, गुरुङ भन्छन्। माओवादी नेताहरू प्रचण्डले पार्टीलाई चलायमान बनाउन नसकेको टिप्पणी गर्छन्। अचेल पार्टी कार्यालय पेरिसडाँडामा पनि प्रचण्ड कहिलेकाहीँ मात्रै पुग्ने गर्छन्।

बैठक प्रचण्डले नै बोलाउनुपर्ने अवस्था छ। ‘मोर्चामा प्रचण्डले बैठक बोलाउँदा आउने, नभए नआउने जस्तो भएको छ’, प्रवक्ता खतिवडा भन्छन्।  मोर्चा निष्क्रिय बन्नुको कारण दलहरूबीच तिक्त सम्बन्ध हो। समाजवादी निकट स्रोतका अनुसार अहिले माओवादी केन्द्र र जसपाबीचको टकरावले मोर्चा सुस्त बनेको हो।

फाइल तस्बिर

‘गौर घटनाको कुरा उठेपछि उपेन्द्रजी (जसपा) र प्रचण्डजीबीच संवाद भएको छैन।’ माओवादीका एक नेता भन्छन्, ‘एकअर्काबीच बैठक बस्ने वातावरण पनि बनेको छैन।’  गौर हत्याकाण्ड ब्युँझाउने विषयमा गृह मन्त्रालयले पीडित भन्दै आन्दोलनमा उत्रिएकाहरूसँग गत साउनमा सहमति गरेपछि सरकारसँग जसपा अध्यक्ष यादव झस्किएका थिए। २०७३ चैत ७ गते गौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच भिडन्त हुँदा २७ जनाको ज्यान गएको थियो। घटना हुनुमा माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले एकअर्कामाथि दोषारोपण गर्दै आएका छन्।

जसपा सशंकित भएकाले प्रचण्डले मोर्चाको बैठक नबोलाएको ती नेता भन्छन्। विप्लवले समेत मोर्चाको औचित्यमाथि प्रश्न उठाउन थालेको स्रोतको दाबी छ।  विप्लवलाई प्रचण्डले पार्टी एकताका लागि प्रस्ताव गरेका थिए। माओवादी स्रोतका अनुसार प्रचण्डले विप्लवलाई माओवादी केन्द्रको महासचिव बनाउने तयारी गरेका थिए। यसै बेला विप्लव पनि मोर्चामा जोडिए।

अब विप्लव माओवादी महासचिव बन्ने सम्भावना न्यून छ। यसैले पनि मोर्चा निष्क्रिय बनेको माओवादी स्रोतको दाबी छ।
एकीकृत समाजवादीमा भने महाधिवेशनको तयारी भइरहेको छ। आउँदो माघका लागि महाधिवेशन तोकिएकाले अन्य दलसँग संवाद गर्न नसकिएको प्रवक्ता खतिवडा बताउँछन्।

अपजस माधव नेपालमाथि

मोर्चाले विधान निर्माण गरी छ/छ महिनामा नेतृत्व परिवर्तन गर्ने उद्देश्य राखेको छ। ‘मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्नेछन्। मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुनेछ। मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यका आधारमा कामकारबाही गर्नेछन्’, विधानमा भनिएको छ।

विधानअनुसार मोर्चाको संयोजक माधव नेपाल छन्। एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको पहिलो बैठकले नेपाल संयोजक तोकिएका थिए। त्यस बैठकबाट कार्यदलमा एकीकृत समाजवादीकै उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य छन्।

मोर्चाको सदस्यसचिवमा एकीकृत समाजवादीका प्रमेश हमाल छन्। मोर्चा चलाउन नेपाल सक्रिय हुनुपर्ने आवाज उठिरहेको छ। ‘अब उहाँ (माधव नेपाल) को अवधि करिब दुई महिना जति छ। यसबेला उहाँ आफैँले सक्रियता देखाउनु पथ्र्यो’, एकीकृत समाजवादीका एक नेताले भने, ‘सहमतिअनुसार उहाँ (माधव नेपाल) नै अबको प्रधानमन्त्री हो।’ कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २/२/१ वर्षे कार्यकाल तोकिएको छ।

नेपाल पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए। प्रभावित क्षेत्रमा मोर्चाका तर्फबाट उनले उपस्थित जनाएनन्। उनले पनि मोर्चाको प्रतिनिधित्व नगरेको गुनासो अन्य नेताहरूको छ। ‘मोर्चा आजका लागि मात्र होइन। भोलि नेपाल वा देउवा प्रधानमन्त्री बन्दा पनि रहन्छ,’ जसपा प्रवक्ता सुमन भन्छन्, ‘जो संयोजक हो उसले बढी जिम्मेवारी लिनुपर्ने त हो।’

नेपाललाई मोर्चाका विषयमा पार्टीभित्रैबाट समस्या छ। समाजवादीका सम्मानित नेता झलनाथ खनाल मोर्चाको विरोध गर्दै आएका छन्। सत्तामा पुगेर समाजवादमा पुग्न नसकिने खनालको निष्कर्ष छ।

भट्टराई पसे के गर्ने?

माओवादी र नेसपाबीच एकता गर्ने तयारी छ। सम्भवत: प्रचण्ड यूएईबाट फर्किएपछि एकता हुनेछ। नेसपा अध्यक्ष भट्टराई समाजवादी मोर्चाका ‘परिकल्पनाकार’ हुन्। तर प्रचण्डले भट्टराईलाई मोर्चामा समेटेनन्। भट्टराईले त्यसबेला समाजवादी मोर्चाको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

प्रचण्ड-भट्टराई एक ठाउँ भएपछि मोर्चामा भट्टराईलाई जिम्मेवारी दिनुपर्ने हुन्छ। ‘अब हामीले कुन जिम्मेवारी दिने हो? प्रचण्डसँग मिलेपछि समाजवादीको मिसन नै फरक पर्न सक्छ,’ समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘उहाँले संयोजक मागेको खण्डमा के गर्ने अन्योल छ।’ प्रचण्डले नेपालसहितका नेताहरूसँग भेट्दासमेत भट्टराईको जिम्मेवारीका बारेमा जिज्ञासा राख्दै आएका छन्।

प्रचण्ड-भट्टराईबीच एकता भएमा समाजवादी मोर्चा ‘कब्जा’ हुने सम्भावना पनि छ। अहिले पनि मोर्चामा माओवादीकै वर्चस्व छ। मोर्चामा सामेल हुने माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एकीकृत समाजवादीको १० सिट छ।

समाजवादी मोर्चा प्रचण्डको सत्ता टिकाउने टेको मात्र रहेको राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन्। ‘प्रचण्डले कांग्रेसले धोका दिन्छ कि भनेर अर्को गठबन्धन तयार गरेका मात्र हुन्,’ खतिवडा भन्छन्, ‘यसको औचित्य छैन। सत्तामा संकटका बेला मोर्चालाई सक्रियता देखाउन खोज्छन्/खोज्नेछन्।’

प्रकाशित: १४ मंसिर २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =