दरबन्दी बाहेकका स्वास्थ्यका कर्मचारी फिर्ता हुने

हिमाल प्रेस २३ असार २०८० १८:५०
4.4k
SHARES
दरबन्दी बाहेकका स्वास्थ्यका कर्मचारी फिर्ता हुने

धनगढी- कैलाली कञ्चनपुरका स्थानीय तहले दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी फिर्ता पठाउने भएका छन्। शनिबार कैलाली र कञ्चनपुरका स्थानीय तहका प्रमुखहरूको बैठकले पालिकाहरूमा दरबन्दीभन्दा बढी कार्यरत कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएकाे हाे।

धनगढी उप-महानगरपालिका प्रमुख गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको स्राेतसाधनबाट स्वीकृत दरबन्दी बाहेकका थप कर्मचारीको तलब, भत्ता उपलब्ध गराउन नसकिने निष्कर्षा निकाल्दै बढी भएका कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको हाे।

बैठकपछि नगर प्रमुख हमालले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएकाे जानकारी गराएका छन्। ‘कर्मचारी समायोजन ऐन २०७५ बमोजिम साविकमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा समायोजन, समायोजन संशोधन, सरुवा एवम् कामकाजका लागि खटी आएर कामकाज गरिरहेका स्वास्थ्य सेवाका कर्मचारीहरूको तलब, भत्ता संघीय सशर्त अनुदानमार्फत उपलब्ध हुँदै आएकोमा आव २०८०/८१ देखि स्वीकृत दरबन्दीभन्दा बढी तलब, भत्ता दिन नसकिने जानकारी प्राप्त हुन आएकोले त्यसरी तलब. भत्ता प्राप्त नहुँदा स्थानीय तहको स्राेतसाधनबाट स्वीकृत दरबन्दी बाहेकका अन्य थप कर्मचारीहरूको तलब, भत्ता उपलब्ध गराउन नसकिने अवस्था छ’ प्रेस विज्ञप्तिमा भनिएको छ।

स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने र कर्मचारी समायोजन ऐन, २०७४ बमोजिम कैलाली र कञ्चनपुरका स्थानीय तहमा नेपाल सरकार अन्तर्गतका मन्त्रालयहरूबाट खटाई पठाइएका स्वीकृत दरबन्दीभन्दा बढी संख्याका अन्य सेवाका कर्मचारीहरूलाई पनि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ असार २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =