कोशीको पाँचौँ मुख्यमन्त्री बने थापा

विवेक विवश रेग्मी २१ असार २०८० १७:२८
138
SHARES
कोशीको पाँचौँ मुख्यमन्त्री बने थापा

इटहरी– कोशी प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रुपमा उद्धव थापा नियुक्त भएका छन्। थापालाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका थापा समानुपातिक सांसद हुन्।

उनी नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन्। थापालाई कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सिटसहित ४७ सांसदको समर्थन छ।

९३ सांसद रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। जसमध्ये सभामुखलाई पनि जोडेर कांग्रेसबाट थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

यसअघि नेकपा एमालेको नेतृत्वमा मुख्यमन्त्री बनेका हिक्मत कार्कीले अघिल्लो बुधबार विश्वासको मत प्राप्त नगरेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो। कार्कीको नेतृत्वमा यसअघि माओवादी, राप्रपा र जसपाको संयुक्त सरकार बनेको थियो। उनैको नेतृत्वमा नामविहीन बनेको प्रदेश १ को नाम कोशी राखिएपछि पहिचानवादीहरू आन्दोलित बनेका थिए।

पहिचानको मुद्दा उठाएको नेकपा माओबादी केन्द्र र जसपाले चौतर्फी दबाबपछि सरकारबाट बाहिरिने निर्णय गरेका थिए। सोही कारण कार्कीले विश्वासको मत माग्नुपर्ने बाध्यता थियो। कार्कीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

को हुन् नवनियुक्त मुख्यमन्त्री थापा?

थापा झापा निवासी हुन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नजिक रहेर पार्टीमा काम गरेका उनी २०६८ सालमा झापा कांग्रेसको सभापति बनेका थिए। त्यसबेला उनले विश्वप्रकाश शर्मालाई पराजित गर्दै जिल्ला सभापति बने। जिल्ला सभापति भएसँगै उनको राजनीतिक यात्राले थप गति लियो।

यससँगै नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा २०७८ मंसिर २० गते थापा निर्वाचित भए। गुरुराज घिमिरेलाई २ मतअन्तरले पराजित गर्दै थापाले प्रदेशमा पार्टीको पहिलो नेतृत्व सम्हाल्ने अवसर पाएका थिए।

उनी समानुपातिकबाट सांसद बने पनि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। २०७९ पुस १५ गते भएको कांग्रेस संसदीय दलको नेतामा कुल २९ सिटमध्ये थापाले १८ मत प्राप्त गरेका थिए भने केदार कार्कीले ९ मत प्राप्त गरे। यस्तै अमृत अर्यालले भने २ मत प्राप्त गरेका थिए।

कांग्रेसभित्र सिटौलासँग लामो समय नजिक रहेर हालसम्म निरन्तर काम गरिरहेका थापा मुख्यमन्त्रीमा नियुक्त भएसँगै विश्वासको मत पाउने, नपाउने भन्नेबारे चर्चा सुरु हुुन थालेको छ।

कोशीमा सभामुखलाई पनि जोडेर बहुमत पुर्‍याइएपछि थापाले विश्वासको मत पाउने सम्भावना कम छ। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

थापाले विश्वासको मत पाउन राप्रपाले समर्थन गर्नुपर्ने हुन्छ। तर सरकार निर्माणकै लागि साथ नदिएको राप्रपाले विश्वासको मत दिने अवस्था पनि कम देखिन्छ।

प्रकाशित: २१ असार २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =