अन्तर्वार्ता

मुख्यमन्त्रीमा फेरि पनि मेरो दाबी रहन्छ : उद्धव थापा

विवेक विवश रेग्मी ११ साउन २०८० १७:५०
76
SHARES
मुख्यमन्त्रीमा फेरि पनि मेरो दाबी रहन्छ : उद्धव थापा

उद्धव थापा २१ असारमा कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका थापा नेतृत्वको सरकार गठन प्रक्रियालाई सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको छ।

अदालतले सात दिनभित्र नयाँ सरकार गठनका लागि आदेश दिएपछि दलहरू नयाँ सरकार गठन प्रक्रियामा जुटेका छन्। ९३ सदस्यीय प्रतिनिधिसभामो एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। प्रदेशमा सरकारको नेतृत्व गर्न ४७ सिट आवश्यक पर्छ। अदालतको आदेशपछि कामचलाउ बनेका मुख्यमन्त्री उद्धव थापासँग गरिएको संक्षिप्त कुराकानी :

सर्वोच्चको आदेशपछि तपाईँ र तपाईँको दलको प्रतिक्रिया के छ?

सर्वोच्चको जे आदेश आएको छ, त्यो सही छ। अब हामीले अदालतको आदेश मान्नैपर्छ। अदालतले प्रक्रिया पुर्‍याएर सरकार गठन गर्न आदेश दिएको छ। एक हप्ताभित्र सरकारमा दाबी प्रस्तुत गर्नेछौँ।

प्रदेशले नयाँ मुख्यमन्त्री कहिलेसम्म पाउँछ?

सरकार गठन प्रक्रिया गलत छ भन्ने फैसला भएको छ। अब त्यस्तो गल्ती नहुने गरी सरकार गठन हुन्छ। एक साताभित्र प्रदेशले मुख्यमन्त्री पाउँछ। त्यसको तयारीका लागि हामी गृहकार्यमा जुटिसकेका छौँ।

अब कुन दलको नेतृत्वमा सरकार गठन होला?

अब पनि सरकार कांग्रेस नेतृत्वमै गठन हुन्छ। फेरि पनि संविधानको धारा १६८(२) बमोजिम नै सरकार गठन हुने भएकाले हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन हुने हो। यसका लागि हामीले अन्य दलका नेतासँग पनि कुराकानी सुरु गरेका छौँ।

उसो भए मुख्यमन्त्री तपाईँ नै हो फेरि पनि?

म नै मुख्यमन्त्री भनेर त अहिल्यै कसरी भन्नु? कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएपछि मुख्यमन्त्रीमा मेरो दाबी भई नै हाल्छ। पार्टीले नेतृत्व गर्न पाएपछि संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नु स्वाभाविकै हो।

तपाईँ थोरै दिन सत्तामा बस्दाको अनुभव सुनाइदिनुस् न?

यस विषयमा धेरै भन्न लायक कुरा केही छैन। छोटो अवधिको अनुभव सुनाउन अहिले नै हतार हुन्छ जस्तो लाग्छ। तीन साता मुख्यमन्त्री बन्दा प्राप्त गरेको उपलब्धिबारे पछि कुरा गरौँला।

यो पनि

कोशीमा सरकार बनाउन तीन विकल्प बाँकी

प्रकाशित: ११ साउन २०८० १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =