‘कामचलाउ’ मुख्यमन्त्रीले पाउलान् ‘पूर्ण इजलास’को साथ?

हिमाल प्रेस १८ भदौ २०८० ११:०७
2
SHARE
‘कामचलाउ’ मुख्यमन्त्रीले पाउलान् ‘पूर्ण इजलास’को साथ?

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतसम्बन्धी विवादको रिटको पेसी सर्वोच्च अदालतको पूर्ण इजलासमा परेको छ।

मुद्दाको पेसी न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको हो।

यसअघि आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले उक्त रिटलाई सुनुवाइका लागि पूर्ण (३ वा ३ भन्दा बढी न्यायाधीश सम्मेलित) इजालसमा सुनुवाइ गर्न आदेश दिएको थियो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘कामचलाउ’ अवस्थामा छ।

पछिल्लो समय कोशी प्रदेश सरकार बजेटविहीनको अवस्थामा समेत छ। यसअघि ल्याइएको बजेट अध्यादेश निस्क्रिय भएपछि कोशी प्रदेश अहिले बजेट शून्यताको अवस्थमा रहेको हो।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएकोले निरन्तर सुनुवाइ भएर टुंगोमा पुर्‍याइने सम्भावना छ।

कोशी प्रदेश सरकार गठनको विवादमा यसअघि पनि दायर भएको रिटमाथि ३ न्यायाधीशको इजलासले निरन्तर सुनुवाइ गरी टुंगोमा पुर्‍याएको थियो।

प्रकाशित: १८ भदौ २०८० ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =