चीनबाट ल्याइयो पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

हिमाल प्रेस २० असार २०८० १७:४४
8
SHARES
चीनबाट ल्याइयो पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

काठमाडौँ- सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो।

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने बताए। उनले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि खोप दिइने जानकारी दिए।

उनले खोप कुनकुन जिल्लाका दिने भनेर निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने र सोहीअनुसार किशोरीलाई खोप लगाइने बताए। उनका अनुसार खोप ६ महिनाको फरकमा दुई मात्रा दिइने गरिन्छ। सरकारले चीनबाट पहिलोपटक सो खोप खरिद गरेर ल्याएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले दुर्गम क्षेत्रका महिलालाई खोपले क्यान्सर हुनबाट बचाउने बताए। उनले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार दिनमा ६ महिलाको मृत्यु हुने गरेको बताए। डा. शाहीका अनुसार वर्षमा करिब दुई हजार ५०० महिलामा पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ।

उनले असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताए। रासस

प्रकाशित: २० असार २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =