मध्यराति महिलालाई इन्स्पेक्टरको म्यासेज : फोटो पठाऊ न, म तिम्रो ‘फिगरको फ्यान’ हुँ

हिमाल प्रेस १८ असार २०८० १९:३८
26.9k
SHARES
मध्यराति महिलालाई इन्स्पेक्टरको म्यासेज : फोटो पठाऊ न,  म तिम्रो ‘फिगरको फ्यान’ हुँ

काठमाडौँ- नेपाल प्रहरीका इन्स्पेक्टर सुवास तिमिल्सिनाले एक महिलालाई ‘म तिम्रो फिगरको फ्यान’ भन्दै पठाएको म्यासेज सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टरले आफूलाई सामाजिक सञ्जालमार्फत अनावश्यक म्यासेज पठाएको र आफूलाई असुरक्षित महसुस भएको भन्दै महिलाले ट्वीटरमार्फत म्यासेज संवाद सार्वजनिक गरेकी हुन्।

‘नेपाल प्रहरीकै इन्स्पेक्टरले असुरक्षाको वातावरण सृजना गरिरहेका छन्’ ती महिलाले सामाजिक सञ्जालमा लेखेकी छन्। महिलाले इन्स्पेक्टरले आफूसँग गरेको च्याटको स्कृनसर्ट पनि सार्वजनिक गरेकी छन्।

म्यासेजमा इन्स्पेक्टर तिमिल्सिनाले महिलालाई प्रिय भनेर सम्बोधन गर्दै फोटो पठाउन भनेका छन्। महिलाले कस्तो फोटो भनेर प्रश्न सोधेकी छन्। त्यसपछि उनले आफूलाई विश्वास गर्न भनेका छन्। इन्स्पेक्टरले राति ११: १ बजे म्यासेज पठाएका छन्।

महिलाले कहिल्यै नभेटेको मान्छेसँग आफूलाई कुरा गर्न अप्ठ्यारो लाग्ने भनेकी छन्।

यसबारे नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सामाजिक सञ्जालमा इन्स्पेक्टरलाई जोडेर आएको विषयमा जानकारी भएको बताए। ‘यो घटनाबारे सत्यतथ्य बुझेर छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइसकिएको छ’ कडायतले भने।

यस घटनाबारे छानबिनका लागि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति नै गठन गरेको छ। कास्कीका डीएसपी प्रकाश दाहालको नेतृत्वमा छानबिन समिति बनेको जिप्रका कास्कीका अर्का डीएसपी श्रवण विकले जानकारी दिए। ‘घटनाबारे हामीलाई पनि ट्वीटरमार्फत नै जानकारी भयो। डीएसपीसापको नेतृत्वमा छानबिन हुँदैछ’ उनले भने।

प्रकाशित: १८ असार २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =