कोशीमा नयाँ सरकार गठन आह्वान

हिमाल प्रेस १७ असार २०८० १९:४४
16
SHARES
कोशीमा नयाँ सरकार गठन आह्वान

इटहरी– कोशी सरकारका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका हुन्।

खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्। शुक्रबार एमालेका संसदीय दलको नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान भएसँगै कोशीमा ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय चर्किने देखिन्छ।

ठूला दलले राप्रपा र एकमात्र सांसद रहेको जसपालाई फकाउनु मुख्य चुनौती छ। एमालेको सरकार ढलेपछि अहिले कांग्रेस र माओवादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर सरकार बनाउने योजनामा छन्।  कांग्रेसले दलका नेता उद्धव थापालाई सरकारको नेतृत्व गर्ने गरी अघि सार्ने निर्णय गरिसकेको छ। एमाले हिक्मत कार्कीकै नेतृत्वमा नयाँ सरकार बनाउने पक्षमा छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको खाँचो छ। कार्की नेतृत्वको सरकार ४६ सांसदको मात्रै समर्थन जुट्दा ढलेको थियो। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन्। यसअघि ऊसँग सरकारमा गएको राप्रपासँग ६ जना सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ नै हुन्छ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी(जसपा) का १ जना सांसद छन्। अहिले आह्वान भएअनुसार सरकार गठन नभए संयुक्त सरकारको आह्वान हुनेछ। सहमतिको सरकार पनि गठन नभए प्रदेशसभा विघटन हुनेछ र मध्यावधि चुनावमा जानुपर्नेछ।

प्रकाशित: १७ असार २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =