पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान

हिमाल प्रेस १६ असार २०८० १६:१४
2
SHARE
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान

झापा- कचनकवल गाउँपालिकाका कर्मचारीले आफूहरूलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन्। गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख छ।

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको भुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा उल्लेख गरेका छन्। माछापालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीलाई उजुरी दिएका हुन्।

उनीहरूले माछाको भुराका लागि प्रतिगोटा साढे १ रुपैयाँका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए। गाउँपालिकाले प्रतिगोटा तीन रुपैयाँ पर्ने भनिएको माछाको भुराका लागि साढे १ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो।

सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो। कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो।

पालिका अध्यक्ष राजवंशीले माछा किसान कर्मचारीबाट ठगीमा परेका बताए। ‘कर्मचारीबाट त्रुटि भएकै हो। सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ,’ उनले भने, ‘कमजोरी गर्नेलाई ढाकछोप गरिँन्न। दोष हेरेर कारबाही गर्छौं।’ घटनाको यथार्थ बुझेर चाँडै सार्वजनिक गर्ने उनको भनाइ छ। रासस

प्रकाशित: १६ असार २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =