पाल्पामा बजारे बिउले रैथाने बाली संकटमा

हिमाल प्रेस १४ असार २०८० १२:२०
4
SHARES
पाल्पामा बजारे बिउले रैथाने बाली संकटमा

पाल्पा– बजारमा आएका उन्नत जातका बिउको प्रयोगले परम्परागत बिउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन।

छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बिउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन्।

परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमश: हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको पाल्पा रामपुरकी सीता देवकोटा बताउँछिन्।

‘व्यावसायिक रूपमा कृषि गर्न पुरानो जातका बिउले उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन,’ उनले भनिन्, ‘धान, मकै, तरकारी खेती गर्दा नयाँ जात नै लगाउने गरिएको छ।’

१ दशयता तरकारी, धान, मकै, गहुँबाली लगाउँदा उन्नत नै बिउ लगाउँदै आएकी उनी स्थानीय जातको बिउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने बताउँछिन्।

किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बिउ विजन खरिद गरेर लगाउने गरेका छन्। गाउँ-गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बिउबिजन खरिद गर्न सहज भएपछि स्थानीय जात छाड्दै गएका हुन्।

बाहिर बजारमा पुगेर बिउ खरिद गर्ने झन्झटले कतिपयले स्थानीय बिउ नै लगाउने गरे पनि पछिल्लो समय एग्रोभेटले नयाँ-नयाँ जातका बिउबिजन ल्याउन थालेपछि बिउ खरिद गर्न सजिलो भएको अगुवा कृषक दिल थापा बताउँछन्। उनले जग्गा भाडामा करिव दश रोपनीमा तरकारी लगाउँदै आएका छन्।

‘जग्गा भाडामा लिएर व्यावसायीक खेती गर्नेलाई स्थानीय जातको बिउ लगाएर हुँदैन, स्थानीय जातमा धेरै रोग किराले सताउने गर्दछ, बजारमा आएका नयाँ जातका बिउ बेला, बेलामा खरिद गरेर तरकारी खेती गरिरहेको छु। उत्पादन राम्रै दिइरहेको छ,’ उनले भने।

स्थानीय जात लगाउँदा मेहनत र लगानी अनुसारको उत्पादन लिन नसकिने, उन्नतले उत्पादन वृद्धि, गुणस्तरको बिउ भएपछि रोग किरा पनि कम लाग्ने गरेको थापाको अनुभव छ। कृषक थापाले हरेक वर्ष बिरुवा राख्नुअगावै कृषि प्राविधिकसँगको सल्लाह लिएर नयाँ जातका बिउ लगाउँदै आएका छन्।

भण्डारण गरिएको गुणस्तरको बिउ पाएपछि कृषकहरू यसतर्फ आकर्षित हुन थालेका हुन्। कृषकले बर्सेनि एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बिउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो।

बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, फलफूलमा नयाँ जातको गुणस्तरको बिउ आएपछि खेती गर्न सहज, धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातमा धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन्।

‘रैथाने बाली केही ठाउँमा बिउ जोगाउन छिटफुट मात्रामा लगाउने गरिए तापनि सबैले नयाँ, उन्नत जातका बिउ बर्सेनि प्रयोग गर्ने गरेको पाइन्छ, राम्रोसँग भण्डारण गरिएको गुणस्तरको बिउ पाइने हुँदा उत्पादन धेरै लिन पुरानो बाली छाडेर नयाँ जातका बालीमा कृषक आकर्षित छन्,’ उनले भने।

अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जात चलनचल्तीमा छन्।

पाल्पाको दोस्रो खाद्यान्न बालीका रूपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ। खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन्। खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ।

कृषक उन्नत जाततर्फ आकर्षित हुँदा खेती लगाइएका जमिनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन्। थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखे पनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ।

छोटो समयमा धेरै उत्पादन लिने उद्देश्य राखेका कारण स्थानीय जातका परम्परागत बिउ लोप हुँदै गएको हो। व्यावसायिक तवरले खेती सुरु गरेकाले स्थानीयबाट आर्थिक लाभ लिन नसकिने हुदा मनग्य उत्पादन गर्न उन्नत बाली लगाउने गरिएको कृषक बताउँछन्।

प्रकाशित: १४ असार २०८० १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =