हिँड्न नसक्ने नुवाकोटकी सन्तोषीलाई घरमै दिइयो नागरिकता

हिमाल प्रेस १३ असार २०८० ९:२८
12
SHARES
हिँड्न नसक्ने नुवाकोटकी सन्तोषीलाई घरमै दिइयो नागरिकता

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिका-६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन्।

जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया उनलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मंगलबार घरमै पुगेर नागरिकताको प्रमाण पत्र दिएका हुन्।

उक्त वडाका वडाध्यक्ष नारायण रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै उनलाई प्रजिअ थापा, सहायक प्रजिअ बेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडासहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाण पत्र दिएका हुन्।

शारीरिक रूपमा पूर्ण अशक्त उनलाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तावापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रजिअ थापाको भनाइ छ।

शारीरिक रूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उनले बताए।

‘राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्नसमेत पुग्दैन। नागरिकता पाएपछि उनले सरकारबाट पाउने सेवा सुविधा लिन सहज हुनेछ,’ नागकिरता प्राप्त भएपछि सन्तोषीका बुबा तोयले भने, ‘छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ। १ जना हेरालु खटिनुपर्छ। दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो।’

प्रकाशित: १३ असार २०८० ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =