नियात्रा

चिम्टेश्वर महादेव र जुठो प्रसाद

राजाराम बर्तौला ३ चैत २०८० १८:०५
62
SHARES
चिम्टेश्वर महादेव र जुठो प्रसाद

ककनीको छेउछाउतिर नै छ चिम्टेश्वर महादेव भनेर सुनिएको थियो तर त्यतातिर जाने चाँजोपाँजो मिलेको थिएन। ‘हाइक फर नेपाल’ले चिम्टेश्वर महादेवको दर्शन गर्न जाने गरी पदयात्राको कार्यक्रम बनाएको सन्देश आयो। सन्देश देख्नेबित्तिकै जानेको सूचीमा नाम लेखाएँ।

न धेरै जाडो न त गर्मी। ठिक्कको हावा वसन्ती पालुवासँग ठोक्किएर मन्दमन्द शीतलतासहित आद्र मौसमको बिहानीमा हिँड्नुको छुट्टै आनन्द छ। अलिकति मादकता र पुष्पलताले पल्लवित प्रकतिमा अलिकति सुगन्धित माधुर्यको रौनकता थपिएको सुन्दर बिहानीमा एकसरो भित्री पहिरनलाई हावा छेक्ने पातलो बाहिरी विन्ड चिटरले छोपेर घरबाट निस्किएँ। अघिल्लो दिन महाशिवरात्रि मनाएर जोगी संन्यासी आआफ्नो कुटी फर्कने तरखर गर्दै गर्दा हामी भने प्रदर्शनीमार्गबाट बस चढेर ककनीतर्फ लाग्यौँ, चिम्टेश्वर महादेवको दर्शन गर्न।

‘हामी पनि हुइँकियौँ बैनी साझा बसैमा’ भनेजस्तो हामी पदयात्री आआफ्नो झोलीतुम्बा भिरेर बालाजु हुँदै लाग्याँै ककनीतर्फ। तीनपिप्लेसम्मको बाटो त ठिकै हो तर त्यसपछिको बाटो भने कन्तबिजोग रहेछ। ठेक्का लगाएको बर्सौँ भयो रे भन्थे। तर कार्यप्रगति भने खाल्टो खनेर छोड्नुबाहेक केही छैन। ढाड सीधा राखे पनि खाल्टोमा परेको बसको झड्काले टेडो बनाइदिने रहेछ। एक त बुढेसकालको हाड त्यसमाथि बसको चक्काले उफारेर दिएको झड्का के चाहियो र? केही दिनका लागि मालिस गर्दैमा दिन बित्ने होला भन्दै ठेकेदारलाई सत्तोसराप गरेर बाटो काटियो। नेपालको विकासको अनुपम नमुना यो सडकको कन्तबिजोग हेरेर अनुमान लगाउन सकिन्छ।

ककनीबाट माथि लागेपछि ट्राउट माछा फार्म र स्ट्राबेरी फार्म प्रशस्तै देखिन्छ। जापानिजहरुले नेपालीलाई पहिला ट्राउन खेती गर्न सिकाए र पछि स्ट्राबेरी फार्म गर्न। पहिला यहाँ परम्परागत कृषि प्रणालीबाट मूलाखेती गरिन्थ्यो। अहिले पनि मूलाखेती छोडिएको छैन। यद्यपि ट्राउट र स्ट्राबेरी खेतीले यहाँको किसानको आम्दानी बढाउनमा प्रशस्त मद्दत गरेको प्रस्ट देखिन्छ। फर्केर आउँदा माछा र स्ट्राबेरी लिएर जानुपर्ला भन्ने धेरैको विचार थियो। दोकानअगाडि राखेको प्लास्टिकको बोतलको रातो झोल देखाएर एउटाले भन्यो, ‘यहाँ त स्ट्राबेरीको तीनपाने पनि पाइने रहेछ। लाने हैन त?’ भरे फर्कँदा लिएर जाने सूचीमा यो रातो झोल पनि समावेश भएको छ भन्ने धेरैको अनुमान रह्यो।

बसमा थचारिँदै र पछारिँदै रानीपौवाबाट केही तल नुवाकोटतर्फको ३५ किलोसम्म पुगेर चिम्टेश्वरका लागि उकालो लाग्दा बसले गति छोडिदियो। बसको इन्जिनले जति नै बल गरे पनि बाटोको खाल्टोले र छोटो मोडले लामो बस अगाडि बढ्न दिएन। बस त्यहीँ छोडेर ओख्लेबाट पदयात्रा सुरु भयो।

चिम्टेश्वर ककनीमा पर्छ भन्ने सोचिएको थियो। यो त बेलकोटगढी नगरपालिकामा पो पर्ने रहेछ। ओख्लेबाट हिँडेको करिब एक घन्टापछि ककनी र बेलकोटगढीको सिमानमा पुगियो। यहाँबाट आरुखर्क र सेरा भन्ज्याङ हुँदै चिम्टेश्वर पुगिने रहेछ। हुन त चिम्टेश्वरको केही तलसम्म चारपांग्रे  सवारी पनि जाने रहेछ। कच्ची बाटो भएको हुँदा त्यति सुरक्षित भने छैन। हामी पदयात्राका लागि हिँडेको हुँदा आरुखर्क र सेरा भन्ज्याङको बीचमा १९ मिटरभन्दा अग्ला दुई ठूला डाँडा चढ्दै र ओर्लँदै  गरेर अक्करे चट्टानको गोरेटो भीरको बाटो कतै बोटका गाँजा मात्दै कतै लौरोको सहाराले टेकेर सेरा भन्ज्याङ पुग्यौँ। यी डाँडाबाट नुवाकोटको बृहत्तर दृश्य अवलोकन गर्न सकिन्छ। आकाश खुलेका बेला यहाँबाट उत्तरका गणेश हिमाललगायत लाङटाङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। हामी पुग्दा तल बेसीका बस्ती अवलोकन गर्न सकिए पनि तुवाँलो र बादलको कारणले हिमालको दृश्यावलोकनको आनन्द उठाउन भने पाएनौँ।

यी नांगा डाँडा हिँड्दै गर्दा डढेलोले कालै बनाएका पाखामा टेकेर हिँड्नुपर्‍यो। खर, सिरुवा जलाएर भस्म गरेपछि बर्खाको पानीले नयाँ टुसा पलाएर यी पाखा हरिया हुन्छन् र चरिचरनका लागि योग्य हुन्छन्। घाँस काट्न पाइन्छ भनेर गाउँलेले वसन्त ऋतुको आगमनसँगै आगो लगाउने गर्दछन्। यी जंगलमा भएमा लाखौँ किटपतंग, जनावर जलेर भष्म हुन्छन्। यसरी जंगलमा डढेलो लगाउनु पापकर्म हो भनेर कसले सम्झाउने? यसबाट पर्यावरणमा पर्ने क्षतिको हिसाब गरेर साध्य छैन। तर पनि परम्परा धान्ने नाममा, पुर्खाले गरेको कामको सिको धान्ने प्रयासमा हामीले पर्यावरणमाथि ठूलो अन्याय गरिरहेका छौँ।

यिनै डाँडाबाट बेलकोटगढी पनि देखिन्छ। नेपाल एकीकरणको इतिहासमा बेलकोटगढीको छुट्टै स्थान छ। नुवाकोटको विजयपछि बेलकोटगढीमा आक्रमण गरेर जयन्त रानालाई मारेका हुन्। जयन्त राना त्यस समय कान्तिपुरका राजा जयप्रकाशको सेना प्रमुख थिए। पृथ्वीनारायण शाहले गोरखाली सेनामा आउन आग्रह गर्दा पनि यिनी गएनन्।

पृथ्वीका बुवा नरभूपाल शाहले नुवाकोट हमला गर्दा यिनै जयन्त रानालाई सेना प्रमुख बनाएर पठाएका थिए। पराजय भएको उक्त युद्धपछि जयन्त राना गोरखा फर्किएनन् बरु काठमाडाैँका राजा जयप्रकाशको सेनामा भर्ती भए। पृथ्वीनारायण शाहको आदेशमा यिनी काटिए र यिनीलाई काट्दा प्रयोग भएका खुँडा तरबार त्यही बेलकोट दरबारमा खाल्टो खनेर गाडियो र त्यसमाथि मौलो ठड्याइयो।

अहिले पनि त्यही मौलोमा दसैँको समयमा राँगा बलि दिने चलन छ। त्यहाँ बलि दिइने राँगालाई उनै जयन्त रानाको सन्तानले काट्ने चलन छ। यहाँ दसैँको फूलपाती गोरखाबाट ल्याइन्छ। जुन रीतले हनुमानढोकामा गोरखाबाट बढाइँसहित फूलपाती ल्याइने गरिन्छ सोही रीतले बेलकोट गढीमा पनि फूलपाती भित्र्याइने चलन छ। गणतन्त्रको आगमनपछि भने गोरखाबाट फूलपाती त ल्याइन्छ तर सिपाहीले नभएर सर्वसाधारण नागरिकको प्रयासबाट। यद्यपि परम्परालाई भने कायम राखेको देखिन्छ। यो पदयात्रामा आरुखर्कमाथिको डाँडाबाट बेलकोटगढीको दृश्यावलोकनसहित नेपालको इतिहासको समेत स्मरण गर्ने अवसर प्राप्त भयो।

गाउँको बाटो हिँड्दा आरुफूलले लोभ्याइरहेको थियो। आरु फुलेको बोटहरुको छेको पारेर तस्बिर लिनेहरु प्रशस्तै थिए। फूल फुलेको देखेपछि रहर पलाउने रहेछ। मन फक्रिएर आफैँ चञ्चल रुमानी हुने रहेछ। त्यसमाथि जवानीको उमंगले चढेको बैँसमाथि फक्रिएको फूलले लाली सजाउने रहेछ। सँगै हिँडेका समान उमेरका दौँतरी नरनारीहरु उफ्रुँ कि नाचुँ गर्ने मनस्थितिमा पुग्ने रहेछन्।

हेर्दाहेर्दै १९०० मिटरको उचाइमा पुग्दा राताम्मे भएर फुलेको गुराँसले पनि स्वागत गर्‍यो। मनै थाम्न नसकेर होला सुकन्याहरुले केश देखाएर फूल टिपिदिन आग्रह गरेको पनि देखियो। गुराँसको रुखै चढेर फूल टिपिदिएको पनि देखियो। कसैको केशमा सजियो, कसैको झोलामा बेरियो। आखिरी फूलले जवानीको स्पर्श गरेरै छोड्यो। हुन त बाटोमा भेटिएका, देखिएका फूल नटिप्न भनिएकै थियो। सौन्दर्य आकर्षणको बल विवेकभन्दा प्रबल हुने रहेछ। ‘टिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ’ भनेर मात्र मानवीय सौन्दर्य चेतले के मान्ला र? फूलहरु चुँडिए, हाँगाबाट पातहरू फ्याँकिए सडकमा। कोही सजिए केशमा कोही रहे हातमा।

सेरार भन्ज्याङमा चहलपहल अन्यत्रभन्दा बढी देखिन्छ। यहाँ माध्यमिक विद्यालय पनि छ सेरा भन्ज्याङबाट अलिकति उकालो लागेपछि सिँढी बनाएको छ चिम्टेश्वर पुग्न। यिनी सिँढी चढेर हामी चिम्टेश्वर पुग्यौँ। चिम्टेश्वर २१०० मिटरको उचाइमा रहेको छ। चिम्टेश्वरमा महाशिवरात्रिका ठूलो मेला लाग्ने रहेछ। हामी पुग्दा स्थानीय युवा जात्रालुले गरेको फोहर उठाएर व्यवस्थित गर्ने काममा लागेका थिए। जात्रा सकिए पनि जात्राको रौनक बाँकी नै थियो।

मन्दिरमा पुग्ने लाग्दा भगवान् शिवलाई केन्द्रमा राखेर सिद्धहस्त शिल्पी कलाकारहरूले विभिन्न रूप र आकार दिएर बनाएका थुप्रै प्रस्तर कलाकृतिले स्वागत गर्छन्। यी कलाकृति सुन्दर त छन् नै अतिसय कलात्मक र मूल्यवान् पनि देखिन्छन्। सत्य, शिव र सुन्दरलाई कलाकारको सूक्ष्म बौद्धिकता, परिकल्पना र शिल्पकारिताबाट प्रस्फुटन गरिएको छ। अलौकिक आनन्द प्रदायक छन् यी प्रस्तर कलाकृति।

चिम्टेश्वर महादेवको मन्दिर रहेको स्थानमा भ्युटावर पनि निर्माण गरिएको छ। भनिन्छ यहाँ पनि बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो गढी बनाएका थिए रे। त्यसको अवशेषका रूपमा बंकर देख्न सकिन्छ।

भनियो चिम्टेश्वर महादेवमा विशेष मेला लाग्छ। भगवान्‌प्रति आस्था राख्ने भक्तालुहरु धादिङ र नुवाकोटदेखि मेला भर्न आइपुग्छन्। मन्दिर सानो देखिन्छ। यद्यपि चिम्टेश्वरको शिव महिमा विशाल रहेछ। मन्दिरमा नाम सापेक्ष चिम्टा नै चढाउने रहेछन् भक्तले। चिम्टा नै किन चढाइएको हो भनेर सोधनी गर्दा कुनै विश्वसनीय जवाफ सुन्न पाइएन। लोकोक्ति र चिम्टेश्वरको महिमा भने सुन्न पाइयो।

पानी नपरेर सुख्खा लागेमा यहाँ आएर पूजाआराधना गरिने रहेछ। रुद्री पूजासँगै महादेवसँग ‘हरहर महादेव पानी देऊ’ भनेर पानी मागेपछि शिवालयको प्रांगणमा जुठो प्रसाद फ्याँकिदिने रहेछन्। यसो गरेपछि पानी पर्छ भन्ने मान्यता रहेछ। आँगनको जुठो सफा गर्न पनि महादेवले पानी झार्छन् भन्ने स्थानीयको विश्वास रहेछ।

बिहान १०ः३० बाट हिँड्न सुरु गरेको पदयात्रा बीचमा आधा घन्टा खाना खान रोकिँदा पनि चिम्टेश्वर पुग्दा ४ बजिसकेको थियो। ओख्लेदेखि करिब १६ किलोमिटर हिँडिएछ। उत्तिकै बाटो हिँडेर फर्कँदा समयमा काठमाडौँ आइपुग्न सम्भव थिएन। सानो साइजको बसलाई दुईपटक लगाएर पुनः ओख्लेसम्म ल्याइपुर्‍याउन लगाइयो र कुशलपूर्वक घर आइयो। घर आइपुग्दा साँझको ९ बजेको थियो।

 

प्रकाशित: ३ चैत २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =