बैंकले पसलमा सुरक्षा गार्ड र कर्मचारी पठाएपछि इटहरी बन्द

बैंक र उवासंघको दोहोरो चेपुवामा व्यापारी

विवेक विवश रेग्मी ११ असार २०८० १३:३२
354
SHARES
बैंकले पसलमा सुरक्षा गार्ड र कर्मचारी पठाएपछि इटहरी बन्द

इटहरी– उद्योग वाणिज्य संघ इटहरीमा नयाँ नेतृत्व आएसँगै व्यापारीहरूमा नयाँ उत्साह थियो। नयाँ नेतृत्वले रचनात्मक ढंगबाट काम गर्ने र व्यापारीका समस्यामा सृजनात्मक विरोध गर्ने आसा लिएका इटहरीका व्यापारीहरूले उही उवासंघको आदेशमा पसल बन्द गर्न बाध्य भएका छन्।

आइतबार  इटहरीस्थित विराटनगर लाइनको शुभलक्ष्मी ज्वेलर्समा ग्लोबल आइएमई बैंकले हातहतियारसहित कर्मचारी खटाएर आतंकित बनाएको भन्दै सोमबार (आज) इटहरीका सबै पसल बन्द गरेकाे उवासंघले जनाएको छ।

उवासंघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आइतबार साँझ एक सूचना जारी गर्दै बैंकबाट अभद्र व्यवहारका कारण त्रसित भएको बन्दै संघले बन्दको आह्वान गरेका थिए। आर्थिक मन्दीले व्यापार व्यवसाय धराशयी भएको समयमा व्यवसायीको मनोबल गिराउने काममा बैंक सक्रिय भएको भन्दै भत्र्सना गरिएको उनले बताए।

उवासंघले व्यापार बन्द गर्ने जनाएसँगै इटहरीको मुख्य चोक आसपासका धेरैजसो व्यापारीहरूले सटर बन्द गरेका छन्।

समयमै ऋण नतिरेको भन्दै बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको र सोही क्रममा सामान जफत गर्न बैंकका गार्डसहित कर्मचारीहरू पसल पुगेका थिए।

बैंकको इटहरी शाखाका कर्मचारी गई जबरजस्ती सुन र अन्य सरसामान जफत गर्न खोजेर व्यपारीलाई आतंकित बनाएको र गुण्डागर्दी शैलीमा बैंक प्रस्तुत भएको जनाउँदै उवासंघले व्यापार बन्द गराएको हो।

सुन पसल संचालक राजमणि श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। तर, बैंकका कर्मचारीहरूले गुण्डागर्दी शैलीमा सुन, बनाइएका गरगहना, पैसा र अन्य सामानहरू जबरजस्ती जफत गर्न खोजेपछि आपत्तिको विषय रहेको बताए।

व्यापार बन्द नगराई छलफल र वार्ताको माध्यमबाट समस्या समाधानका निम्ति उवासंघले पहल गर्नुपर्ने व्यापारीहरूले जनाएका छन्।

इटहरीकी व्यवसायी गायत्री कटवाल (भण्डारी) ले बैंकको तरिका गलत भएको बताइन्।‘बैंकले गलत तरिकाले प्रस्तुत भयो। तर, बैंकको विरुद्धमा, व्यापारीको समस्या समाधान बजार बन्द त होइन नि,’ उनले भनिन्।

भोलिका दिनमा यीभन्दा ठूला र जटिल समस्या पनि आइपर्न सक्ने भन्दै उनले बजार बन्दको कुरामा असहमति जनाइन्। ‘बजार बन्द गर्ने कुरामा मेरो सहमत छैन। बजार खोलेर विरोध गर्न सक्नुपर्‍यो,’ उनले भनिन्, ‘अन्यायमा परेका व्यवसायीहरूले न्याय पाउनुपर्छ। एक त बैंकको प्रक्रिया गलत छ। अर्कोतर्फ उवासंघको निर्णय।’

बैंकविरुद्ध आन्दोलन गर्दा व्यापारीलाई समस्या दिने बैंकमा आर्थिक कारोबार बन्द गर्ने, खाता क्लोज गर्ने तथा बहस र छलफल गरेमा बैंक आफैं सचेत हुने उनको तर्क छ।

‘समस्या समाधानको विकल्प बजार बन्द मात्रै होइन। बन्द बजारलाई पनि उद्योग वाणिज्य संघले खोल्न सक्नुपर्छ,’ भण्डारी भन्छिन्, ‘व्यवसाय नै ठप्प पार्नुहुँदैन। ब्याज तिर्नुपर्ने दिन आउँदैछ। अहिलेको अवस्थामा भाडा तिर्नै पनि गाह्रो छ।’

अहिले इटहरीमा पार्किङ समस्या चौतर्फी रहँदा त्यसको निराकरणका निम्ति उवासंघ लाग्नुपर्ने उनको सुझाव छ।

‘बजार बन्द गर्दाको क्षतिपूर्ति कसले व्यहोर्ने ? उवासंघले इटहरी नै ठप्प पारिदिने त ?,’ उनले भनिन्, ‘हिजो खुलेको पसल आज किन बन्द भइरहेको छ भनेर खोजी गर्नुपर्छ, त्यता कसैको ध्यान नै पुगेको छैन।’

बैंकको प्रक्रिया गलत भएको र पसलमा आउँदा सुनचाँदी व्यवसायी संघ, उवासंघलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ। व्यापारीको समस्यामा सबै व्यापारीहरू एकजुट नै भइरहे पनि उवासंघले बजार बन्द गराएकोप्रति उनको असन्तुष्टि छ।

कार्यसमितिमै असन्तुष्टि

उद्योग वाणिज्य संघले गरेको उक्त निर्णयमा कार्यसमिति सदस्यहरू नै असन्तुष्ट छन्।‘उवासंघको हिजो र आजको बैठकमा नै म उपस्थित छैन, समस्या भएको अवस्थामा छलफल र वार्ताको माध्यमबाट टुंग्याउनुपर्छ,’ वस्तुगततर्फका सदस्य उमेश दाहालले भने।

यसअघिको कार्यसमितिले कहिल्यै पनि पसल बन्दको आह्वान नगर्ने र पसल नै बन्द गर्ने यो पहिलो घटना भएको उनले बताए। ‘ठूला-ठूला बन्द र नेपाल बन्द हुँदासमेत प्रायःजसो इटहरी बन्द हुँदैन थियो,’दाहालले भने, ‘उद्योग वाणिज्य संघले नै पसल बन्द गराएर ऐतिहासिक निर्णय गर्‍यो।’

बैंकर्सहरूसँग पटक-पटक छलफल गर्ने, वार्ता गर्ने, नभए आन्दोलनको कार्यक्रमअनुरूप बैंक घेराउ गर्नुपर्ने भए पनि पसल बन्द गर्नु अत्यन्त निन्दनीय भएको उनी सुनाउँछन्।
‘इटहरी चोकमा पसल गर्नेले दुई लाखभन्दा बढी भाडा तिरिरहेका छन्, दिनकै २० देखि ५० हजारसम्म घाटा छ,’ उनी भन्छन्, ‘आर्थिक मन्दीको समयमा यसरी पसल गर्नु कति न्यायोचित हुन्छ ?’

बैंक बन्द गराउने चेतावनी

उद्योग वाणिज्य संघ इटहरीका सदस्य ध्रुव अधिकारीले गुण्डागर्दी शैलीमा सुन लुटपाट गर्नेजस्तो शैली देखाएपछि पसल बन्द गर्न बाध्य भएको बताए।

‘प्रक्रियागत रूपमा जानुपर्ने ठाउँमा व्यापारीलाई मानसिक तनाव दिएका कारण हामीले आज एकदिन पसल बन्द गरेका हौँ,’ अधिकारीले भने, ‘बैंकले कानुनी रूपमा प्रस्तुत हुनुपर्छ, यो हाम्रो पहिलो चरणको कार्यक्रम हो।’

बैंकले व्यापारीलाई फेरि तनाव नदियोस् भन्नका निम्ति सबै पसल बन्द गरिएको उनले बताए। बैंक पनि बन्द गराउनका निम्ति इटहरीका सबैजसो बैंकमा आफूँहरू जाने उनको भनाइ छ।

प्रकाशित: ११ असार २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =