सूर्य हेरिटेज : सम्पदासँगै नेवारी परिकारको स्वाद

हिमाल प्रेस १० असार २०८० १९:०७
440
SHARES
सूर्य हेरिटेज : सम्पदासँगै नेवारी परिकारको स्वाद

काठमाडौँ- महेन्द्ररत्न शाक्य र उत्तम शाक्य सुनचाँदी व्यवसायमा स्थापित नाम हुन्। लामो समय सुनचाँदी व्यवसायी रहँदा उनीहरूले उद्योगी व्यवसायीका विभिन्न छाता संगठनमा बसेर पनि काम गरे।

पछिल्लो समय भने उनीहरूले व्यवसाय बदलेका छन्। उनीहरू काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा ‘सूर्य हेरिटेज’ होटेलमार्फत ‘हस्पिटालिटी’ क्षेत्रमा प्रवेश गरेका हुन्।
होटेलले थ्री स्टार मान्यता पाएको छ। सूर्य हेरिटेजका प्रबन्ध निर्देशक एवम् सञ्चालक उत्तम शाक्य भने होटलमा फाइभ स्टारको भन्दा राम्रो सेवासुविधा रहेको दाबी गर्छन्।

के छन् सेवासुविधा?

होटेलको सजावट आकर्षक छ। सातौँ तलामा रेस्टुरेन्ट छ। रुफटपमा नेवारी संस्कृति झल्कने रेस्टुरेन्ट खोल्ने तयारी छ। सातौँ तलामै बारको लाउन्ज र फाइनडाइन छ।
खानपान र आवासका साथै सम्पदा संरक्षण गर्ने उनीहरूको उद्देश्य छ। शाक्यका अनुसार सूर्य हेरिटेजमा सबैभन्दा बढी रेस्टुरेन्ट सेवालाई प्राथमिकता दिइएको छ।

सूर्य हेरिटेज नामले नै कुनै संस्कृति वा परम्परागत सम्पदालाई प्रवर्धन  गर्ने बताउँछिन् होटेलकी सेल्स अफ मार्केटिङ म्यानेजर सुस्मिता श्रेष्ठ।
होटेलले नेवारी संस्कृति प्रवर्धन गर्ने उद्देश्य लिएको छ। प्रत्येक हप्ता लाइभ म्युजिकको प्रस्तुति दिइने, नेवारी डान्स, कल्चरल डान्सलगायत कार्यक्रमबाट पाहुनालाई मनोरञ्जन दिने तयारी होटेलको छ।

‘हामीले ग्र्यान्ड ओपनिङ गरिसकेपछि यी सबै कुरा गर्नेछौँ,’ श्रेष्ठले भनिन्। होटेलको ग्र्यान्ड ओपनिङ एक महिनाभित्रै गर्ने तयारी छ।  ग्र्यान्ड ओपनिङ नगरे पनि पाहुना आउन सुरु भइसकेको छ। ‘कुनै दिन त निकै भीड हुन्छ,’ श्रेष्ठले भनिन्।

भारतीय, सिंगापुरे र चिनियाँ पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो। ‘यहाँको एउटा विशेषता कल्चरल डान्स हो। लाइभ म्युजिक प्रोग्राम पनि नियमित हुन्छ,’ श्रेष्ठले भनिन्, ‘मौलिक नेवारी खाना कहिल्यै छुटाइँदैन।’ होटेलमा विभिन्न कन्टिनेन्टल परिकार उपलब्ध छन्।

‘हामीले विशेष गरी आउट गेस्टलाई लक्ष्य गरेर खोलेका हौँ,’ श्रेष्ठले भनिन्। आउट गेस्ट आकर्षण गर्न दुइटा बियरमा एउटा फ्री गर्ने, डिस्काउन्ट दिनेलगायत योजना होटेलले बनाउँदै छ। साथै एउटा–दुइटा स्न्याक्स फ्री खुवाउने विकल्प होटेलले बनाइरहेको छ।

होटेलका कोठाको सेटअप ‘हेरिटेज स्टाइल’मा छन्। ‘कोठाहरू सबै काठले सजाइएका छन्,’ श्रेष्ठले भनिन्, ‘जम्मा ९२ कोठा छन्। त्यसमा १६ वटा प्रिमियम, २५ वटा प्रिमियम डिलक्स र अन्य डिलक्स हुन्।’

सेल्स म्यानेजर श्रेष्ठका अनुसार प्रिमियम सिंगल कोठाको शुल्क प्रतिरात ७० डलर छ। त्यस्तै डबल बेड रुमको एक रातको शुल्क ८० डलर तोकिएको छ। त्यसमा ब्रेकफास्ट पाइन्छ। डिलक्स प्रिमियम रुमको भाडा सिंगलको ५० डलर र डबलको ६० डलर निर्धारण गरिएको छ। डिलक्सको सिंगल रुम ३५ डलर र डबलको ४५ डलर तोकिएको छ।

ठमेलमध्येमा हेरिटेज स्टाइलको होटेल ‘सूर्य हेरिटेज’ मात्रै भएकाले पर्यटक आकर्षित हुने आशा सञ्चालकहरूको छ। ‘ठमेलको करिबकरिब पहिलो हेरिटेज होटेल भने पनि हुन्छ,’ श्रेष्ठले भनिन्, ‘अहिले थ्री स्टार पाइसकेका छौँ। एउटा स्विमिङ पुल भएको भए ‘फोर स्टार’ पाउँथ्यौँ।’

होटेलमा एकैपटक ३० देखि ४० वटा कार अटाउने पार्किङ छ। कार पार्किङमुनि बाइक पार्किङस्थल छ। एकैपटकमा ३ सय वटासम्म बाइक पार्किङ ‘स्पेस’ छ। श्रेष्ठ भन्छिन्, ‘ठमेल क्षत्रेमै अरूभन्दा भिन्न छ।’

विदेशी पाहुनालाई लक्षित गरेर सञ्चालित होटेलमा नेपाली मौलिक खाना, नेवारी संस्कृतिका कारण पाहुन आकर्षणमा पर्ने होटेल सञ्चालकहरू बताउँछन्। इन्द्रजात्रामा काठमाडौँमा गरिने सांस्कृतिक प्रस्तुति होटेलमा पनि गरिने उनीहरूको तयारी छ।

होटेलमा तीनवटा हल छन्। बैंक, बिमालगायत कर्पोरेट सेक्टरले हलमा कार्यक्रम गर्न चाहेमा उपलब्ध गराउने उद्देश्यले हल सञ्चालनमा ल्याइएका हुन्। श्रेष्ठले भनिन्, ‘उहाँहरूलाई चाहिने सबै सामान हाम्रो हलमा उपलब्ध छ। सानो जन्मदिन पार्टी, विवाह, व्रतबन्धलगायतमा पनि हल दिनेछौँ।’  तीनवटा हलमध्ये एउटामा २५० जना अटाउने क्षमता छ। दुइटामा १ सय ५०, १ सय ५० गरी ३ सय जना अटाउने क्षमताका छन्।

होटेलको अर्को मुख्य आकर्षणका रूपमा ‘रुफटप’ लाई लिइएको छ। ‘यहाँको मुख्य प्लस पोइन्ट भनेको छतबाट चारैतिर ३६० डिग्री भ्यु हेर्न सकिन्छ,’ श्रेष्ठले भनिन्, ‘बेलुकाको भ्यु हेर्न छतबाट आनन्द आउँछ।’

ठाउँको परिस्थितिले होटेल बन्यो : प्रबन्ध निर्देशक उत्तम शाक्य 

ठमेल भनेपछि होटेल, रेस्टुरेन्ट, क्लब र नाइटलाइफ सोच्ने धेरै छन्। त्यही सोचेर हामी पनि अब यसलाई होटेल गर्नुपर्छ भनेर हस्पिटालिटी क्षेत्रमा आएका हौँ। त्यही भएर हाम्रो अलिकति स्ट्रक्चर मिलेको छैन। अर्कै क्षेत्रबाट आएका छौँ। यसमा केही शुभचिन्तक र दाजुभाइहरूको हौसलाले बल मिलेको छ। नत्र यही नै गर्नुपर्छ भनेर हामी यसमा आइपुगेका होइनौँ।

६ वर्षको अथक प्रयासपछि हामी होटेल यो स्थितिमा पुगेको छ। हाम्रो हेरिटेज लुक्सको विशेषताले नै कस्टमरहरू यहाँ आउनुहुन्छ। यहाँ होटेल त थुप्रै छन्। हाम्रो दाँजोको होटेल विरलै छन्। हामीले कल्चरल डेभलेपमेन्टका लागि होटेल खोलेका छौँ। त्यसका लागि माथि दुइटा किचन छन्। अब नेवारी किचन पनि डेभलप गर्न लागेका छौँ। एकापट्टि नेवारी भयो, अर्कोपट्टि नेपाली मोडर्न किचन। अहिले सेटिङ भइरहेको छ।

थ्री स्टार लेबलकै भए पनि यसका हेरिटेज लुक्सका रुमहरु फाइभ स्टारभन्दा कम छैनन्। फाइभस्टारको जुन सुविधा र फेसिलिटिजहरु छन्, त्यो थ्री स्टार लेबलबाटै त्यही कस्टमा उपलब्ध गराउँछौँ। फ्यामिली रन बिजनेस हो। हाम्रो ग्रुप सूर्य एन्ड सन्स हो। हामी सुन क्षेत्रका व्यवसायी हो। त्यही ग्रुपले यहाँ सूर्य हेरिटेज होटेल सुरु गरेको हो। अहिलेसम्मको यसको लगानी २० करोड रुपैयाँको छ, जमिनबाहेक। अझै १ देखि २ करोड रुपैयाँ लाग्छ। डेकोरेसन बाँकी छ।

 

प्रकाशित: १० असार २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =