बाढीले साढे ८ अर्ब रुपैयाँका विद्युत् आयोजनामा क्षति

हिमाल प्रेस १० असार २०८० १२:५६
6
SHARES
बाढीले साढे ८ अर्ब रुपैयाँका विद्युत् आयोजनामा क्षति

काठमाडौँ- पूर्वी नेपालमा आएको बाढीले ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे छ। यहि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरमा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० जलविद्युत आयोजनामा उक्त रकम बराबरकाे क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो।

उत्पादनमा रहेका १३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्ब रुपैयाँको क्षति भएकाे इप्पानले जानकारी दिएकाे छ। विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए।

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोड रुपैयाँ बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए।

उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्ण रूपमा क्षति भएर आयोजनाको पुनर्निर्माणक लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ।

त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा‍खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुंगानाले जानकारी दिए।

निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति

बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधीन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवाखोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ।

उक्त आयोजना निर्माणमा खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो। त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शव भेटिएको छ। ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए।

त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए। ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए।

प्रकाशित: १० असार २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =