प्रेम चलाउने भन्छन्- गुण्डा र अपराधीहरूको देशमा बस्‍नु छैन

हिमाल प्रेस ४ असार २०८० १३:२२
20
SHARES
प्रेम चलाउने भन्छन्- गुण्डा र अपराधीहरूको देशमा बस्‍नु छैन

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्याक प्रेम चलाउनेले गुण्डा र अपराधीहरूको देशमा आफू बाँच्नु नचाहेको बताएका छन्। सत्याग्रहका लागि सोमबार काठमाडौँ जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन्।

आफूमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि लागेको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउनेले यस्तो अभिव्यक्ति दिएका हुन्।  उनले भने, ‘यो गुण्डाहरूको देशमा मलाई बाँच्नु छैन। अपराधीहरूको देशमा मलाई बाँच्नु छैन। यसैले आज मैले सत्याग्रह थाल्न लागेको हुँ। मलाई बन्द इजलास र सरकार दुवैले न्याय दिएनन्। म न्याय खोसेर लिन्छु।’ यद्यपि उनलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गर्नुअघि उनले आफ्नो विभागमा लगाइएको ताला खोल्न आग्रह गर्दा नेपाल विद्यार्थी संघले गुण्डा परिचालन गरेर आफूमाथि आक्रमण गरेको बताए। चलाउनेले भने, ‘ताला लगाएको साठी दिन भएको थियो। मैले ताला खोल्न आग्रह गरेँ। एउटा प्राध्यापकले के भन्थ्यो र? उसलाई रिस उठ्यो। घमण्ड पलायो। प्रोफेसनलहरू भाडामा लियो। टेक्सास कलेजमा पढ्ने रुपेश साह २० हजार रुपैयाँ सुपारी लिएर कीर्तिपुरमा मलाई हान्न आयो।’ आफूलाई चार-चारजनाले आक्रमण गरेको उनले बताए।

उनले भने, ‘जसले मलाई चिन्दैचिन्दैन। मेरो तस्बिर देखाएर हप्तौँ पछ्याउन लगाइन्छ। यसरी संगठित रूपमा गरिएको घटनालाई राजनीतिकरण गरियो। राजनीतिको आडमा मुद्दा फिर्ता लिने भएपछि यो देशको कुनै नागरिकले न्याय पाउने रहेछ त?’

उनले त्रिविमा पढाउने शिक्षकको हालत यस्तो छ भने दूरदराजका जनताको कस्तो होला भनी प्रश्न गरे। उनले अदालतप्रति भने आफ्नो भरोसा कायमै रहेको बताए। चालउनेले भने, ‘सभ्य समाजमा भरोसा गर्ने निकाय त हुनुपर्‍यो नि!’
चलाउनेमाथि ०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण भएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन थियो। सरकारले सोही मुद्दा फिर्ता लिएपछि उनी आक्रोशित भएका छन्।

प्रकाशित: ४ असार २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =