माइक्रोसफ्टका एआई निर्देशकको सहजीकरणमा आईटीसँग जोडिए त्रिविका विद्यार्थी

हिमाल प्रेस ३ माघ २०८० १५:३२
64
SHARES
माइक्रोसफ्टका एआई निर्देशकको सहजीकरणमा आईटीसँग जोडिए त्रिविका विद्यार्थी

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सीधै जोड्नुपर्ने बताएकी छिन्।

सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आईटी’ क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको बताइन्।

सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ। मन्त्री शर्माको उपस्थितिमा विभागका प्रमुख सरविन सायमी र सोसाइटीका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरे।

‘विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान र त्यहाँबाट शैक्षिक उपाधि पाएका विद्यार्थी बजारमा तत्काल बिक्दैनन् भन्ने धारणालाई गलत साबित गर्न पनि शैक्षिक कार्यक्रमलाई खपतकर्ता उद्योगको आवश्यकतासँग जोड्नुपर्छ’, मन्त्री शर्माले भनिन्।

उनले श्रम बजारमा जाने हरेकलाई सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिसँग अभ्यस्त गराउन तालिम दिइनुपर्नेमा जोड दिइन्। ‘अहिले विद्यार्थी कम भए भनिएका शैक्षिक कार्यक्रममा पनि यही तरिकाले आकर्षक बनाउन सकिन्छ’, उनले भनिन्।

सम्झौताअनुसार सूचना प्रविधिमा स्नातकोत्तर तह सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीमध्ये प्रतिस्पर्धाका आधारमा छानिएका ३० जनालाई माइक्रोसफ्ट कम्पनीको व्यावसायिक पाठ्यक्रम पढाइनेछ।

यसका लागि माइक्रोसफ्ट अमेरिकास्थित मुख्यालयमा एआई निर्देशकका रूपमा कार्यरत समीर थापाले सहजीकरण गरेको जानकारी कार्यक्रममा दिइएको थियो। विभाग प्रमुख सायमीका अनुसार तालिमपछि ती विद्यार्थीले स्वदेश तथा विदेशमा सम्बन्धित विषयमा आकर्षक तलबसहित रोजगारी पाउनेछन्।

विश्वविद्यालयका निमित्त उपकुलपति शिवलाल भुसालले विश्वविद्यालयमा दिइने सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञानको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै माइक्रोसफ्टका एआई निर्देशक थापाले विश्वविद्यालयका प्राज्ञिक कार्यक्रम र सूचना प्रविधि क्षेत्रको आवश्यकताबीच तालमेल नहुँदा स्नातक र स्नातकोत्तर उपाधि लिएर अमेरिका आएका नेपालीले निम्नस्तरको काम गर्न बाध्य भएकाले भविष्यमा अमेरिका आउन चाहनेहरूलाई लक्ष्य गरी त्रिभुवन विश्वविद्यालयसँग सहकार्यको थालनी गरिएको बताए।

प्रकाशित: ३ माघ २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =