भोलिदेखि भारतीय चलचित्र प्रदर्शन प्रतिबन्ध लगाउने बालेनको निर्णय

हिमाल प्रेस ३ असार २०८० १७:०१
56
SHARES
भोलिदेखि भारतीय चलचित्र प्रदर्शन प्रतिबन्ध लगाउने बालेनको निर्णय

काठमाडौँ- काठमाडौं महानगरपालिकाले भोलिदेखि काठमाडौँ महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले भोलिदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने निर्णय गरेको महानगर प्रमुख बालेन शाहले जानकारी दिए।

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए ।

‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौँ’ बालेनले भनेका छन्।

उनले नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बताएका छन्।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’

चलचित्रमा सीता भारतमा जन्मेको भन्ने वाक्यंशलाई सच्याएमात्रै प्रदर्शन गर्न दिन सकिने बालेनको भनाइ छ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो,’ उनले थप भने, ‘त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ।’

प्रकाशित: ३ असार २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 5 =