महानगरको निर्णयपछि नयाँ बसपार्कमा थपिए ५६ काउन्टर

हिमाल प्रेस २ असार २०८० १२:३९
18
SHARES
महानगरको निर्णयपछि नयाँ बसपार्कमा थपिए ५६ काउन्टर

काठमाडौँ– गोंगबुस्थित नयाँ बसपर्कमा ५६ वटा नयाँ टिकट काउन्टर थपिएका छन्। काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाहिरका टिकट काउन्टर हटाएपछि बसपार्कमा काउन्टर थपिएका हुन्।

काठमाडौँबाट उपत्यकाबाहिर चल्ने सार्वजनिक यात्रुवाहक सवारी नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि टिकट काउन्टर संख्या बढाइएको हो।

महानगरले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने नियम लागु गरेको हो।

यसअघि बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वर, सुन्धारा, गौशालालगायत क्षेत्रमा रहेका काउन्टर महानगरपालिकाले हटाएको हो।

महानगरले शुक्रबार (हिजो) बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन भएका टिकट काउन्टरसमेत हटाउन सुरु गरेको हो।

ती क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हटाइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन्। माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मलपछाडि पार्किङ तथा काउन्टरको व्यवस्था गरिएको छ।

नयाँ बसपार्कबाट माइक्रोबस तथा जीप सञ्चालनका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउन्टर थप गरेको हो।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले महानगरले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउन्टर निर्माण गरिएको जानकारी दिए।

‘नयाँ बसपार्कबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ,’ उनले भने।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, वालिङ, बुटवल, भैरहवा जाने ठूला बसमात्र सञ्चालन हुँदै आएका थिए।

विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस कोटेश्वरबाट छुट्थे भने हेटौंडा जाने टाटा सुमो बल्खुबाट सञ्चालन हुँदै आएका थिए।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न महानगरले ०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालन गर्दै आएको हो।

१ सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८ सय बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ क्षमता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =