किन गर्ने रक्तदान?

हिमाल प्रेस ३१ जेठ २०८० १२:४९
8
SHARES
किन गर्ने रक्तदान? सांकेतिक तस्बिर।

काठमाडौँ- वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन। नेपालमा कुल जनसंख्याको ०‍.८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ। त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन। रक्तदातामध्ये करिब १७ प्रतिशत महिला छन् र पुरुष ८३ प्रतिशत छन्। विश्व स्वास्थ्य संगठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ।

रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरू हिच्किचाउने गर्दछन्। रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयंको शरीरसमेत स्वस्थ रहन्छ भन्ने जानकारीको अभाव छ। सामान्यतः १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम् तीन सय ५० मिलिलिटर भएका जो कोहीले पनि रक्तदान गर्न सक्दछन्।

सामान्यतयाः एउटा व्यक्तिको शरीरमा ६ लिटर (करिब १० युनिट) रगत उत्पादन हुन्छ। जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात् चार सय ७० मिलिमिटर रगतमात्र निकाल्ने गरिन्छ। त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशतमात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानि गर्दैन। एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ। सोही रगत अरूलाई दान गर्दा व्यक्तिको शरीरमा छिटोछिटो रगतको उत्पादन हुने गर्दछ।

नेपाल स्वयंसेवी रक्तदाता समाज अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीहरूसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क उपलब्ध एवं वितरण नगरेसम्म व्यापार नै हुने बताउँछन्। सरकारले स्वयम्सेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयम्सेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको उनको भनाइ छ।

देशका प्रमुख अस्पतालहरुमा जटिल रोगहरूको उपचार सम्भव एवम् सुविधामा आएको अभिवृद्धिका साथै दिनहुँ बढ्दै गइरहेको दुर्घटना तथा प्राकृतिक विपद् लगायतका कारणले रगतको मागमा अत्यधिक वृद्धि भइरहेको छ। चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपतकालीन एवम् प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पता भएका वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित बच्चाहरू, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती आदिलाई रगत आवश्यक पर्दछ। सुरक्षित रगतले प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान बचाउन सकिन्छ।

पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ। दैनिक रूपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढ्दो छ। तर मागअनुसार आपूर्ति भने निकै कम छ। यसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन।

अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन्। काठमाडौँमा पाँच/छ सय पिन्ट रगतको माग हुने गर्दछ। शनिबार करिब ३०/४० वटा शिविरहरू सञ्चालदन हुने हुँदा धेरै परिणाममा रक्तदान हुने भएकाले त्यसले दुई/तीन दिनलाई पुगे पनि बाँकी दिन अभाव नै हुने गरेको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति बताउँछन्।

विज्ञानले हालसम्म पनि रगतको विकल्प पत्ता लगाउन नसकिरहेको सन्दर्भमा बिरामीलाई रक्तसञ्चारको आवश्यकता भएमा स्वयंसेवी रक्तदाताहरूबाटै सुरक्षित रक्तदान गराउनुको विकल्प छैन। अहिले पनि रक्तदाताहरूको दानबाट नै बिरामीले रगत पाइरहेका छन् र जीवन बचाइरहेका छन्। रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनुअघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ। व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा फलामको स्तर सामान्य सीमाभित्र हुनुपर्ने प्रजापति बताउँछन्।

चिकित्सकहरूका अनुसार चिसो, फ्लु, घाँटी दुखाइ, पेट संक्रमण भएका व्यक्तिहरू, ट्याटु वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि ६ महिनासम्म रगत दान दिन सक्दैनन् भने १३ ग्राम प्रतिडीसीलिटर एलभन्दा कम एच बी भएका पुरुष र १२ ग्राम प्रतिडीसीलिटर एलभन्दा कम एच बी भएका महिलाले रक्तदान गर्न सक्दैनन्।

यसै गरी एचआईभी सङ्क्रमित व्यक्ति, रिक्रिएसनल औषधिहरूको प्रयोग गर्ने व्यक्ति, गर्भवती र स्तनपान गराउने महिलालाई बच्चा जन्माएको ९ महिनासम्म रक्तदान गर्न अनुमति छैन। सुरुसुरुमा स्वयंसेवी रक्तदाताहरूको कमी हुँदा बिरामीका आफन्तहरूले आफ्नो मान्छेका लागि बाध्यताले रगत दिन्थे भने पैसा तिरेर पेसेवर रक्तदाताहरूबाट रगत खरिद गरिन्थ्यो। नेपालमा स्वययंसेवी रक्तदानको सुरुआत २००० सालमा स्व. दयावीर कंसाकारले गरेका थिए। पछि २०२३ सालमा वीर अस्पतालमा लक्ष्मी ब्लड बैंकको स्थापना भई नेपालको राष्ट्रिय रक्तसञ्चार सेवा सुरु भएको थियो। स्वयंसेवी रक्तदाता तथा रक्तदान गर्ने संस्थाहरूसँग स्वयंसेवी रक्तदाताको अभाव, रक्तदानको प्रचारप्रसार नहुँदा तिनै पेसेवर रक्तदाताहरूको सहारा लिनुपर्ने बाध्यता थियो।

नेपाल रेडक्रस सोसाइटीले २०३३ सालमा रक्तसञ्चार सेवा केन्द्र काठमाडौँ स्थापना गरी यसअन्तर्गत विभिन्न जिल्लामा संस्थागत रूपमा रक्तदान कार्यलाई अगाडि बढाएको थियो। पछि बिरामीलाई स्वच्छ तथा स्वस्थ रगत उपलब्ध गराउन सहयोग पुर्‍याउनका लागि काठमाडौँ उपत्यकाका स्वयम्सेवी रक्तदान गर्ने विभिन्न संघसंस्थालाई संगठित गरी २०४६ सालमा ब्लड डोनर्स क्लबको स्थापना गरी २०४९ सालमा ब्लोदानको स्थापना गरियो।

ब्लोदानका केन्द्रीय अध्यक्ष प्रजापतिले केन्द्रले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहकार्यमा रगतसम्बन्धी जनचेतनालगायत अन्य गतिविधिहरु निरन्तर सञ्चालन गर्दै आएको र यस वर्ष पनि विश्व रक्तदाता दिवसका अवसरमा जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको बताए।

सरकारले यस वर्ष पनि डेङ्गुको जोखिम आउनसक्ने बताएकाले अहिलेदेखि नै रगतको अभाव हुन नदिन उच्च सतर्कता देखाउनुपर्ने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल बताउँछन्। उनका अनुसार रेडक्रसको देशभरिको तथ्यांक हेर्दा १४ प्रतिशत शोधभर्नाबाट रगत प्राप्त भइरहेको छ भने ८६ प्रतिशत शिविर र स्वयंसेवीहरूबाट भएको छ।

राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा शतप्रतिशत नै स्वयंसेवी रक्तदाताहरूबाट हुनुपर्ने व्यवस्था रहेकाले स्वयंसेवी रक्तदाताको संख्यात्मक वृद्धिसँगै उनीहरूलाई तीन/तीन महिनाको अन्तरमा रक्तदान गर्न उत्प्रेरित गराउनुपर्ने हुन्छ। नीति बनेको १० वर्ष भइसक्दा पनि यसम्बन्धी कानुन नहुँदा धेरै समस्या रहेको पौडेल बताउँछन्।

विश्व स्वास्थ्य स)गठनको आह्वानमा ए, बी, ओ रक्त समूह पत्ता लगाउने नोबेल पुरस्कार विजेता महान् वैज्ञानिक डा। काल्र्स ल्यान्डस्टेनरको जन्मदिन जुन १४ को अवसर पारेर सन् २००४ देखि सप्ताहव्यापी रूपमा दिवस मनाउन सुरु गरिएको हो। -रासस

प्रकाशित: ३१ जेठ २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =