जनयुद्धमा सहभागी नै नभएकाले प्रचण्डविरुद्ध मुद्दा हाले : देवेन्द्र पौडेल

हिमाल प्रेस २९ जेठ २०८० २०:०८
30
SHARES
जनयुद्धमा सहभागी नै नभएकाले प्रचण्डविरुद्ध मुद्दा हाले : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हालेको आरोप लगाएका छन्।  सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको बताएका हुन्।

उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले मुद्दा हालेका बताए। उनले शान्ति प्रक्रिया भाँड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए। उनले माओवादीकाविरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे। सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको उल्लेख गरे।

उनले भने, ‘जसले त्यो बारेमा कुनै पनि प्रकारको न सहभागिता जनाएका थिए न कुनैपनि प्रकारको अपनत्व लिएका थिए ति पक्षहरूले फेरि भाँड्न खोजिरहेका छन्। त्यसकारणले विभिन्न रुपमा माओवादी पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काएर लिएर जाने जुन प्रकारको हर्कतहरू भएका छन् र पछिल्लो चरणमा केही व्यक्तिहरूले हामी जनयुद्धका हुँ भनेर अदालतमा गएर मुद्दा हाल्ने काम गरियो, मुद्दा हाल्नका निम्ति उक्साइयो ति पक्षहरू शान्ति प्रक्रिया भाँड्न चाहन्छन्। हामी के खबरदारी गर्न चाहन्छौँ भने यस प्रकारको प्रवृत्तिले देशले शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न सक्दैन।’

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाब दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रुपले प्रतिवाद गर्ने बताए।

प्रचण्डविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी मुद्दा कसरी अघि बढ्ला?

 

प्रकाशित: २९ जेठ २०८० २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =