तिनाउ नदीको अन्धाधुन्द दोहन

हिमाल प्रेस २९ जेठ २०८० १८:४६
2
SHARE
तिनाउ नदीको अन्धाधुन्द दोहन

रुपन्देही- तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर आवतजावत गरिरहन्छन्। नदीमा एस्काभेटरले निकालेको ढुंगा गिटी र बालुवा बोक्न ट्रिपरलाई भ्याइनभ्याइ हुन्छ। चौबीसै घण्टा ट्रिपर र ट्र्याक्टरले नदीजन्य वस्तु ओसारपसार गरिरहन्छन्। असार १ गतेदेखि तीन महिनाका लागि निकासी बन्द हुने भएपछि नदीमा मनपरी उत्खनन् झनै बढेको छ।

नदीजन्य वस्तु उत्खनन्ले नदीमा ठूलाठूला खाल्डा परेका छन्। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन नगरपालिका, सियारी गाउँपालिकालगायत क्षेत्रसम्म फैलिएको तिनाउमा अहिले मनपरी उत्खनन् भइरहेको छ। नदीको उपयोगका विषयमा स्थानीय पालिकाबीच समझदारी नदेखिएपछि ठेकेदारलाई मनपरी नदीजन्य वस्तु निकाल्न बल पुगेको छ।

तिलोत्तमाले वातावरणीय प्रभाव मूल्यांकन गरेर नदीजन्य वस्तु उत्खनन्को अनुमति दिएको छ। बुटवल उपमहानगरले वातावरणीय प्रभाव मूल्यांकन गरेको छैन। अहिले बुटवलका वडा–१७ र १८ तथा तिलोत्तमाका तिनाउ नदी क्षेत्रमा अत्यधिक दोहन भइरहेको छ।

आइतबार बुटवल उपमहानगरका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सावित्रादेवी अर्याल नेतृत्वको टोली वडा–१७ स्थित तिनाउ नदी किनार पुग्दा सयौँ मालवाहक सवारीसाधन चलिरहेका थिए। यसैगरी एक्स्साभेटरले धमाधम ट्र्याक्टर तथा टिपरमा बालुवा र गिटी भरिरहेका थिए। तिलोत्तमा नगरबाट नदीजन्य पदार्थ निकासीको अनुमति पाएको सिद्धाबाबा डिप ट्युवबेल एण्ड कन्स्ट्रक्सन प्रालिले वडा–४ डिङ्गरनगर क्षेत्रमा उत्खनन् गरिरहेको छ।

तिलोत्तमाबाट अनुमति पाए पनि बुटवल उपमहानगरका क्षेत्रमा समेत उत्खनन् गर्ने काम भइरहेकाले अहिलेलाई रोक्न निर्देशन दिइएको उपप्रमुख अर्यालले बताइन्।
अनुगमन टोलीले मापदण्डभन्दा बाहिर गएर उत्खनन् नगर्नसमेत ठेकेदारलाई निर्देशन दिइएको उनले बताइन्।

दुई पालिकाबीच नदी उपयोगका विषयमा भएको सहमतिविपरित मनपरी उत्खनन् भइरहेको बुटवल उपमहानगरका प्राकृतिक स्रोत तथा सम्पत्ति व्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्यालले बताए। बुटवलमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने केही ठेकेदारलाई जरिबानासमेत गरिएको उनको भनाइ छ।

नदीबाट बालुवा, गिटी र ढुंगालगायत निर्माण सामग्री नदी किनारमै संकलन गर्ने र त्यहीँबाट उठाउने गरिएको छ। वातावरणीय प्रभाव मूल्यांकनको समेत बेवास्ता गर्दै मनपरी ढंगले नदी तथा खोलानालाको दोहन भइरहेको छ। जसका कारण बस्तीसँगै अन्य प्राकृतिक स्रोत पनि संकटमा पर्ने जोखिम बढ्दै गएको छ।

सामान्यतया पुलभन्दा ५ सय मिटर टाढा, नदी किनारबाट १५÷२० मिटर टाढा र आधा मिटरदेखि एक मिटरसम्म मात्रै गहिरो हुने गरी निर्माण सामग्री संकलन गर्न पाउने मापदण्ड छ। यसबाहेक ईआईएमा तोकेको ठाउँ र परिमाणमा मात्रै संकलन गर्न पाउने व्यवस्था भए पनि मापदण्ड पालना कुनै पनि स्थानमा भएको देखिँदैन।

बालुवा, गिट्टी, ग्राभेल र ढुंगा संकलनका लागि ठाउँ नै तोकेर ईआईएमा उल्लेख गरिए पनि त्यसअनुसार कतै पनि काम भएको छैन। नदीमा एकै ठाउँमा नहरजस्तो खाल्डो बनाएर ग्राभेल निकालिएको छ। नदीको बीच भागमा नभई किनारतिर भएका कारण वर्षायाममा बाढीको जोखिम पनि बढेको स्थानीय लोकनाथ ज्ञवालीले बताए।

तिलोत्तमा नगरपालिकाको नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, ओसारपसार तथा बिक्री वितरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ बनाइएको छ। सोही कार्यविधिअनुसार नदीजन्य पदार्थ निकासीका लागि चार कम्पनीलाई ठेक्का दिइएको नगरपालिकाले बताएको छ।

सो नगरपालिकाले कोरल निर्माण प्रालिलाई तिलोत्तमा–६ गोरकट्टामा, सिद्धबाबा डिप ट्युवबेल एण्ड कन्स्ट्रक्सन प्रालिलाई तिलोत्तमा–४ डिंगरनगरमा, बस्याल विन्ध्यवासिनी कन्सट्रक्सन प्रालिलाई वडा–६ हरपूर र पहुँनी क्षेत्रमा न्यू सुरज निर्माण सेवा कम्पनीलाई वडा–१४ मा नदीजन्य वस्तु निकासीका लागि अनुमति दिइएको राजस्व उपशाखा प्रमुख इन्द्रदत्त सापकोटाले बताए।

अनुगमनका क्रममा बस्याल विन्ध्यवासिनी कन्ट्रक्सनले पहुँनी क्षेत्रमा बढी उत्खनन् गरेको पाइएको प्रमुख सापकोटाले बताए। त्यस्तै सिद्धबाबा डिप ट्युवबेल एण्ड कन्ट्रक्सन प्रालिले तिलोत्तमा–४ डिङ्गरनगरमा उत्खनन्को काम गरिहरहेको छ। बुटवल–१७ को सीमा जोडिएका यो क्षेत्रमा बुटवल उपमहानगरको भागमा समेत उत्खनन् भएको दाबी कर्मचारीको छ।

नदीजन्य पदार्थ उत्खनन् भएको स्थानबाट ओसारपसार गर्ने समय बिहान ७ देखि साँझ ६ बजेसम्म कायम गरिए पनि नदीमा बिहानैदेखि रातिसम्म उत्खनन्को काम भइरहेको छ। रासस

प्रकाशित: २९ जेठ २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =