सर्वोच्चको आदेश उल्लंघन गर्दै कालीगण्डकी दोहन

हिमाल प्रेस ५ चैत २०७९ १५:२६
12
SHARES
सर्वोच्चको आदेश उल्लंघन गर्दै कालीगण्डकी दोहन

म्याग्दी– धार्मिक, सांस्कृतिक र जैविक महत्त्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने कालीगण्डकी नदीको दोहन तीव्र बनेको छ। नदी किनारमा मोटरबाटो र अव्यवस्थित रूपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ। अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो।

पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरूप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको कालीगण्डकी नदीसम्बन्ध जानकार पुरुषोत्तम आचार्यले बताए।

बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम-कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुंगा, माटो, गेगर र सडककै कारण बर्सेनि पहिराले कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुंगा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ।

कालीगण्डकी नदी वर्षाको समयमा बाढीपहिरो र हिउँदको समयमा अवैधरूपमा ढुंगा, बालुवा निकाल्ने गिरोहका कारण सबैभन्दा बढी मारमा परेको छ। यहाँ सामान्य वर्षा हुँदासाथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ।

सर्वोच्चको आदेश उल्ल‌घन

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो।

तर कालीगण्डकीको न त दोहन रोकिएको छ न शालिग्रामको चोरी निकासीमा नै नियन्त्रण आउन सकेको छ,’ कालीगण्डकी संरक्षण अभियन्ता सागरजीवी उपाध्यायले बताए। नदीको जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ।

कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि काम नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका नाममा अन्तरिम आदेश दिएको थियो।

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ रूप्से छहरा, काभ्रेभिर, बाँदरजुंगे भिरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागरजीवी उपाध्यायले बताए।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन्।

डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ। बालुवा, ढुंगाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्ले बताउँदै आएका छन्।

बस्ती जोखिममा

राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीका कारण विश्वमै दुर्लभ मानिएको बहुमूल्य शालिग्राम शिला संकटमा परेका छन्। पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम शिला पाइन छाडेको मुस्ताङ जोमसोमका यमबहादुर शेरचनले बताए।

‘पहिलेपहिले नदी किनारमा नै शालिग्राम भेटिन्थे तर, अहिले बीचबीचमा गएमा खोज्दा पनि मुस्किलले पाइन्छन्,’ उनले भने।

नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय संकटसमेत बढ्दै गएको छ। नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन्।

नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको व्यवसायी इन्द्रमान शेरचनले बताए।उनका अनुसार कालीगण्डकी नदीको जलचक्र प्रणालीमा समेत परिवर्तन आएको छ। -राससको सहयोगमा

प्रकाशित: ५ चैत २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =