नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणबारे धितोपत्र बोर्डसँग जबाफ मागिने

हिमाल प्रेस २९ जेठ २०८० १४:५३
4
SHARES
नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणबारे धितोपत्र बोर्डसँग जबाफ मागिने

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरणका विषयमा नेपाल धितोपत्र बोर्डसँग जबाफ माग गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपसमितिले दिएको सुझावपछि बोर्ड सचेत नभएको र नयाँ स्टक एक्सचेञ्ज तथा ब्रोकर लाइसेन्स वितरण भएको प्रति आपत्ति जनाउदै यस विषयमा जबाफ माग गर्ने निर्णय गरेको हो।

बैठकमा समिति सदस्यहरूले पुँजीबजारबारे उपसमितिले अध्ययनपछि उपलब्ध गराएको प्रतिवेदनमा बोर्ड गम्भीर नभएको आरोप लगाएका थिए।

समिति सदस्य पदम गिरीले नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सिफारिस गरे पनि त्यसलाई लत्याएर नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया अघि बढ्ने कुरा संवेदनशील भएको बताए। उनले नेप्सेको प्रतिस्पर्धी भित्राउनुपर्ने अवस्थाका बारेमा बोर्डसँग जानकारी लिनुपर्ने उल्लेख गरे। उनले उपसमितिको प्रतिवेदनविपरीत ब्रोकर लाइसेन्स दिने विषयमा छानबिन गर्नुपर्ने बताए।

त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले भइरहेको नेप्सेलाई प्रभावकारी बनाउनुपर्नेमा नयाँलाई भित्र्याउनु उचित नभएकाले लाइसेन्स दिने काम रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए।

त्यस्तै समिति सदस्य मेटमणि चौधरीले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरणमा स्पष्ट हुनुपर्ने भन्दै बोर्डसँग जबाफ माग्नुपर्ने बताएका थिए।

समितिका अन्य सदस्यहरूले नयाँ स्टक र धितोपत्र लाइसेन्सको प्रक्रियाका विषयमा गहन छलफल गरेर मात्रै निष्कर्षमा पुग्दै सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २९ जेठ २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =