नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिएर अर्को काण्ड ननिम्त्याउन महामन्त्री थापाको चेतावनी

हिमाल प्रेस ३० मंसिर २०८० ८:४९
2
SHARE
नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिएर अर्को काण्ड ननिम्त्याउन महामन्त्री थापाको चेतावनी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिएर अर्को काण्ड ननिम्त्याउन सरकारलाई चेतावनी दिएका छन्। सरकारले कुनै बेला आफैँले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने प्रक्रिया अगाडि बढाएको भन्दै महामन्त्री थापाले अध्ययन र आवश्यकताबिना अनुमति नदिन सजग गराएका हुन्।

उनले सरकारलाई सचेत गराउँदागराउँदै पनि अघि बढेमा प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्। ‘हाम्रो काम सरकारलाई बेलैमा सचेत गराउने हो। जुन कुरा गर्नु हुँदैन, त्यो कुरा नगर्नुस्। लाइसेन्स दिएर नयाँ काण्ड ननिम्तयाउनुहोस्। सचेत गर्दागर्दै सरकारले निर्णय गरेमा प्रतिरोध गर्ने हो’, महामन्त्री थापाले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्।

पुँजी बजारको अवस्था अध्ययन नगरी नयाँ स्टक एक्सजेन्सलाई अनुमति दिने प्रक्रिया रोक्नुपर्ने उनको माग छ। उनले भनेका छन्, ‘पुँजी बजारको अवस्था र आवश्यकताबारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोकिनुपर्छ। थापाले अध्ययन र आवश्यकता नभईकन नयाँ स्टक एक्सचेन्जलाई अनुमति नदिने सरकारबाट भएको निर्णयको स्मरण गराएका छन्। केही समयअघि संसद्को अर्थ समितिले दिएको निर्देशनलाई बहाना बनाएर अहिले सरकारले लाइसेन्स दिने तयारी गर्न लागेको उनको भनाइ छ।

कोही व्यक्तिहरूसँग कोठामा मिलाएर कसैको इच्छापूर्ति गर्नका लागि कुनै न कुनै तरिकाले अपवित्र साँठगाँठबाट कसैलाई फाइदा हुने गरीकन निर्णय भएमा प्रतिरोध गर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘त्यसैले के हुन्छ भने अगाडिको जस्तै काण्ड हुन्छ, काण्डको प्रतिरोध हुन्छ। यसले सरकारलाई थप बदनाम बनाउँछ।’

अर्थ समितिको शुक्रबारको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो।

नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ। आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले आवेदन दिने म्याद नसकिँदै रोकिएको अनुमति प्रक्रिया गत वैशाखमा प्रधानमन्त्रीको निर्देशन र २९ जेठमा अर्थ समितिको निर्देशनपछि प्रक्रिया रोकिएको थियो। अहिले प्रक्रिया अगाडि बढेपछि महामन्त्री थापाले विरोध जनाएका हुन्। धितोपत्र बोर्डले २०७९ असाजे २ गते स्टक ब्रोकर, कमोडिटी एक्सचेन्ज र स्टक एक्सचेन्जको अनुमतिका लागि आवदेन मागेको थियो।

प्रकाशित: ३० मंसिर २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =