भोजन मागेका जनतालाई सरकारले महँगी दियो : गोकर्ण विष्ट

हिमाल प्रेस २८ जेठ २०८० १५:००
4
SHARES
भोजन मागेका जनतालाई सरकारले महँगी दियो : गोकर्ण विष्ट

काठमाडौँ- नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन्। उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट ‘जुनकीरीको पिँधले स्वर्ग उज्यालो हुँदैन’ भने जस्तै रहेको टिप्पणी गरेका हुन्।

उनले संसद्मा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए। बजेट औपचारिकतामा मात्रै सीमित भएको उनको भनाइ छ। ‘यो बजेटले अर्थतन्त्रमा गति ल्याउने अवस्था देखिँदैन। बजेटले विद्यमान आर्थिक संकट मन्दी र चुनौतीलाई सम्बोधन गर्न सक्दैन,’ उनले भने, ‘सरकारले ल्याएको बजेटबाट धेरै आशा गर्नु भनेको व्यर्थ मात्रै हो ।’ सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको पनि बताए।

उनले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोतसाधन प्रयोग हुनु राम्रो नभएको बताए।

‘बजेटमा सरकारले परिमार्जन गर्न आवश्यक छ । बजेट निर्माणमा कहाँ चुक्यो भनेर सरकारले समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हामीले आर्थिक उदारीकरणको नाममा, खुला बजार अर्थव्यवस्थाको नाममा बजारमुखी अर्थतन्त्रलाई आत्मासात् गरिरहका छौं। राज्यको भूमिका झन्झन् कमजोर बनिरहेको छ। हामीले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनुपर्ने अवस्था छ।’

उनले दैनिक जीवनमा सर्वसाधारण जनताले प्रयोग गर्ने आलु, प्याजलगायतका कृषिजन्य वस्तुमा १३ प्रतिशत कर लगाउँदा बजारमा मूल्यवृद्धि भएको बताए। सरकारले आन्तरिक उत्पादनलाई बढवा दिने भने पनि बजारमा मूल्य जनताको पहुँचभन्दा माथि पुगेको बताए।

उनले वर्तमान सरकार न्यून आय भएका गरिब जनताप्रति संवेदनशील नभएको आरोप लगाए। सरकारले जनताको संरक्षण र सामाजिक न्यायको भूमिका निर्वाह गर्नुपर्ने भए पनि भोजन मागेका जनतालाई सरकारले महँगी दिएको टिप्पणी गरे। उनले वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट गरिबका लागि नरहेको दाबी गरे।

प्रकाशित: २८ जेठ २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =