तीन पुस्ताको तस्बिरमा काठमाडौँ

रमेशप्रसाद खनाल २ असार २०८० ९:२२
158
SHARES
तीन पुस्ताको तस्बिरमा काठमाडौँ

तस्बिर वा छविले व्यक्ति, दृश्य, कुनै वस्तु वा जीवको प्रतिबिम्ब वा प्रतिछाया इंगित गर्ने अर्थ राख्छ। अंग्रेजी शब्द ‘फोटो’ नेपाली जनजनको जिब्रोमा सहजै स्थापित भइसकेको हुँदा यसले दिने सामान्य अर्थबाट कोही अनजान नहोला। सन् १८१६ मा फ्रान्सका निसेफोरे नियेप्सेले सुरुवात गरेको मानिने छविकला विकसित हुँदै आजको २१ औँ शताब्दीमा डिजिटल प्रविधिबाट प्रत्येक क्षण फोटो खिच्न सकिने र तत्काल सम्प्रेषण गर्न सकिने अवस्थामा पुगेको छ।

स्मार्ट फोन हातहातमा पुगेपछि त झन् फोटो खिच्ने र तत्काल सञ्चार गर्न सकिने भएकाले हरेक व्यक्तिको पहुँचमा फोटो खिच्ने कला पुगेको छ। विगतमा केही विज्ञले मात्र फोटो खिच्ने, धुने र तयार पार्ने कला आज घरघरमा पुगेको छ। विज्ञान र प्रविधिको विकाससँगै फोटो सबै उमेरका मान्छेले सजिलै खिच्न सक्ने भएकाले इन्टरनेट र सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्नेहरूको बाढी आएको छ।

फोटोले व्यक्तिको रूपरङ, उसका गतिविधिमात्र होइन, तत्तत् समय, स्थान, संस्कृति, धर्म, बानीबेहोरा, वेशभूषा, खानपिन, कला, इतिहास आदिको पनि दस्ताबेजीकरण गर्ने रहेछ।

आफ्नो पहिलो फोटो खिचिएको साल यकिन छैन। तर २०२५ सालतिर आमाबा र दिदीभाइसँग वीरगन्जमा खिचिएको फोटोसँगै मेरो यात्रा सुरु भएको रहेछ। आज त्यो म र मेरो परिवारका लागि ऐतिहासिक महत्त्वको फोटो बनेको छ।

त्यसपछि कक्षा ८ पढ्दाताका स्टुडियोमा गएर फोटो खिचाउनुपर्‍यो। फोटोसहितको फाराम भर्नुपर्ने नियम लागू भएको थियो नयाँ शिक्षा प्रणालीबमोजिम। बासँगै काठमाडौँको न्युरोडस्थित फोटो कन्सर्नमा गएर फोटो खिचेको सम्झना आजसम्म छ।

म करिब ११-१२ वर्षको हुँदा तेस्रोपटक मेरो फोटो खिचिएको थियो। बाले मलाई उहाँको कार्यालयले आयोजना गरेको पिकनिकमा पहिलोपटक दक्षिणकाली लानुभएको थियो। दक्षिणकाली आजको जस्तो थिएन। घना जंगलको बीच अहिले मन्दिर रहेको ठीक पछाडि ठूलो चौर र त्यो चौरमुनि बग्ने कलकल खोला उहिल्यैका कुरा भइसक्यो।

अहिले त्यहाँ केही पिकनिक स्टल बनेका छन्। तर त्यो प्राकृतिक छटा भने भताभुंग भइसकेको छ। बाको अफिसले फोटोग्राफरलाई बोलाएको रहेछ। पिकनिकमा फोटो खिच्ने प्रयोजनका लागि। भर्खरभर्खर व्रतबन्ध गरिएको मलाई बाले मयलपोस सुरुवाल, कोट र टोपी लगाएर लग्नुभएको थियो। मलाई बाका साथी हाकिमहरूले निकै मायालु व्यवहार गरेको सम्झन्छु। चौरको उत्तरतर्फ ठीक त्यो कञ्चन पानी बग्ने खोलाको माथि रहेको एउटा विशाल वृक्षलाई पृष्ठभूमि पारेर खिचिएको त्यो फोटोमा म बाको दाहिनेतर्फ उभिएको छु। जुँगाको रेखीसमेत नउम्रिएको उमेरमा बासँग त्यसरी फोटो खिच्न पाउँदा सायद निकै खुसी भएको थिएँ। गर्वले शिर ठाडो पारेर उभिएको छु फोटोमा।

आज पनि त्यो श्यामश्वेत तस्बिर हेर्दा उतिखेरको प्राकृतिक सुन्दरता र फोटोले दक्षिणकालीको इतिहास दर्शाएको महसुस हुन्छ। साथै ३०/३१ सालतिर खिचिएको त्यो फोटोले त्यतिबेला प्रचलित छविकला पनि देखाएको छ।

सन् १९६३ मा द्वारिकादास श्रेष्ठले खिचेको स्वयम्भूनाथ परिसर र सन् २०२१ मा कशिशदास श्रेष्ठले खिचेको स्वयम्भूनाथ परिसर। तस्बिर साभार : पोस्टकार्डस् फ्रम काठमान्डुज पास्ट

२०३३ सालमा एसएलसी परीक्षाका निम्ति फेरि फाराम भर्नुपर्दा फोटो चाहिने भयो। बाले पुनः फोटो कन्सर्नमा लगेर फोटो खिचाउनुभयो। स्टुडियोमा फोटो खिच्न पाउँदा म दंग थिएँ। एसएलसी परीक्षा प्रवेशपत्रमा फोटो कन्सर्नमा खिचेको त्यही फोटो टाँसिएको थियो। धेरै पछिसम्म त्यो फोटो मसँग थियो। श्यामश्वेत त्यो फोटो धेरै वर्षसम्म टिकेको थियो। काठमाडौँमा भएका थोरै फोटो स्टुडियोमध्ये फोटो कन्सर्न उत्कृष्ट मानिन्थ्यो। त्यहाँ फोटो खिचाउनु भनेको ठूलो कुरा पनि थियो।

करिबकरिब ९० को दशकको सुरुमा नेपालमा रंगीन फोटोको युग सुरु भयो। बिस्तारै डिजिटल प्रविधि भित्रिँदै थियो। रेडियोमा हरबखत कलर ल्याबका विज्ञापन बज्थे। त्यस्ता कलर फोटो सेन्टरमा फोटो खिच्न र धुलाउनेको घुइँचो हुन्थ्यो। १९९० सुरु भएसँगै नेपालीले सहजै राहदानी पाउने र विदेश जान सक्ने भए। शिक्षा, रोजगारी, तालिमका लागि नेपाली विदेश जान्थे र फर्किँदा इलेक्ट्रोनिक्स क्यामेरा ल्याउँथे।

जापानी क्यामरा क्यानोन, कोडाक, यासिका खूब चले। १९८९ मा जापानमा भाषा र कूटनीतिको तालिम लिन गएका बेला मैले पनि टोक्योको प्रख्यात इलेक्ट्रोनिक केन्द्र अकिहाबाराबाट क्यानोन क्यामेरा किनेर ल्याएको थिएँ। रिल हालेर फोटो खिच्ने जमानामा रिल हाल्न नजानेर कतिपटक मैले रिल एक्स्पोज गरिदिएकाले फोटो सबै झ्वाम भएर दुःख पाएको थिएँ।

त्यतिबेला बिहेबारी, व्रतबन्धजस्ता ठूला कामकाजबाहेक अरू बेलाको फोटो खिच्ने र धुलाउने प्रचलन खासै थिएन। मैले त्यो बेला ल्याएको क्यामेराको इज्जत बेग्लै थियो। त्यो क्यामेराले फोटो खिच्न र जापानबाट ल्याएको भीसीआरमा हिन्दी सिनेमा हेर्न छरछिमेकका साथीभाइ र आफन्त घरमा आउने गरेको सम्झना ताजै छ।

१९९० को सुरुमा देखिएको यो प्रकारको सूचना र सञ्चारको क्रान्ति २००० को दशकमा आउँदा उलटफेर भइसकेको थियो। कर्डलेस, बिपर अनि मोबाइल हुँदै स्मार्ट फोनको जमाना पनि आयो। जसले फोन, फोटो र इन्टरनेटको काम गर्न थाल्यो।

हिजोआज फोटो हरेक समारोहको अभिन्न अंग भएको छ। बिहेको मण्डपमा परम्परागत कर्मकाण्डमा फोटो सेसन पनि थप भएको छ। दुलाहादुलही पण्डितको भन्दा फोटोग्राफरको निर्देशनमा चल्ने भएका छन्।

अचेल स्मार्ट फोन प्रत्येक मानिसको हातमा पुगेको छ। हरेकले आफूलाई कम्तीको फोटोग्राफर मान्दैन। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालको प्रयोग बढेको छ। फोटो खिच्ने, सामाजिक सञ्जालमा तत्काल पोस्ट गर्छन्। कसले लाइक गर्‍यो, कसले कमेन्ट गर्‍यो, कमेन्ट आयो कि आएन आदिका आधारमा पनि सम्बन्ध निर्धारण हुन थालेको छ पछिल्लो समय।

अमेरिकी राष्ट्रपति हुँदा बाराक ओबामाले आफ्नो फोटो आफैँ खिच्ने ‘सेल्फी’ को काम मोबाइल फोनबाट सुरु के गरिदिएका थिए, आफैँ अनेक पोज र पोजिसनमा फोटो खिच्ने र आफ्नो फोटो हेरेर आफैँ दंगदास पर्ने युगको सुरुवात भइहाल्यो। आफूले आफैँलाई प्रचारित गर्ने र राम्रो देखाउने यही प्रवृत्तिले आफ्नो रूपमा आफैँ दंग पर्ने वा आत्मसन्तुष्टि लिने प्रवृत्ति ‘नार्सिजम’ को पराकाष्ठामा समाज पुगेको छ। जुनसुकै विषयमा बोल्न सक्ने, अभिनय गर्न सक्ने र तत्काल सम्प्रेषण गर्न सक्ने भएर नेपाली समाज टिकटकमय भएको छ।

पेसागत फोटोग्राफी क्रमशः बिहे भोजभतेर ठूला सामाजिक समारोह र औपचारिक तस्बिरका लागि मात्र उपयोग हुने अवस्था आएको छ। यसैले होला कुनै बेला काठमाडौँको टोलटोलमा हुने फोटो स्टुडियो आज औँलामा गन्न सकिने अवस्थामा छन्। फोटोग्राफी पेसाबाट सोखमा सीमित हुने स्थिति बन्दै गएको छ। केही वर्षअघिसम्म पासपोर्ट बनाउन वा कुनै देशको भिसा लिन पासपोर्ट साइजको फोटो अनिवार्य थियो। डिजिटल हुँदै गएर फोटो खिच्ने काम पनि कम्प्युटर प्रविधिबाट सम्बन्धित कार्यालयबाट हुने वा डिजिटल खिचेर अनलाइन पेस गरे हुने भएपछि हार्डकापी फोटोको आवश्यकता क्रमिक रूपमा हराउँदै गएको छ। हुन त अझै पनि नेपालमा कतिपय आधिकारिक निकायमा पासपोर्ट साइज फोटो आवश्यक मानिन्छ।

नेपालमा फोटोग्राफीको इतिहासलाई योगदान दिने हस्ती धेरै छन्। यसको इतिहासकार नभएकाले त्यसबारे धेरै वर्णन, विवेचना र विश्लेषण गर्न असमर्थ छु। तर एकै परिवारको तीन पुस्ताको योगदानलाई दस्तावेजीकरण गरिएको र काठमाडौँको समसामयिक इतिहासलाई जस्ताको तस्तै पेस गर्ने जमर्को गरिएको रोचक फोटो पुस्तिका ‘पोस्टकार्डस् फ्रम काठमान्डुज पास्ट’ नामक पुस्तिका (आफ्नो आमाको जन्मदिनमा उपहारस्वरूप छोरा अभिनवले अमेरिकाबाट पठाइदिएको) सरसर्ती पढ्ने र फोटोको इतिहास केलाउने हुटहुटी जाग्यो। पुस्तिका आद्योपान्त पढिसकेर त्यसमा रहेका तस्बिर हेरिसकेपछि ममा परेको छाप र मैले देखेको त्यतिबेलाको उपत्यकाका केही प्रमुख स्थानका फोटोमा मेरो संस्मरणसहित केही लेख्ने जमर्को गरेको छु।

द्वारिकादास, ज्ञानेन्द्रदास र कशिसदास श्रेष्ठ।

यो पुस्तिका अप्रिल २०२३ मा प्रकाशित भएको छ। नेपाली फोटोग्राफर त्यसमा पनि एकै परिवारका तीन पुस्ताको आँखाबाट नेपाल र खासगरी काठमाडौँ उपत्यकाका मुख्यमुख्य स्थानको अभिलेखीकरण गरिएको यो पुस्तिकाले नेपालको विभिन्न कालखण्डको इतिहास दर्शाएको छ।

हरिदेवी श्रेष्ठ र ठाकुरदास प्रधानका चार सन्तानमध्ये माहिलो छोराका रूपमा जन्मिएका द्वारिकादास श्रेष्ठ (१९२६–२००४) ले आफ्ना पिताले भारतको दार्जिलिङमा स्थापना गरेको दास फोटो स्टुडियोमा केटाकेटीदेखि काम गर्दागर्दै सिकेको सीप र आफूले विकसित गरेको क्षमताका आधारमा १९६० मा दार्जिलिङबाट सदाका लागि नेपाल फर्किएर न्युरोड खिचापोखरीमा दास फोटो स्टोर नामक स्टुडियो खोले। आफ्नो व्यवसाय सुरु गरे। छवि कर्म पुस्तादरपुस्ता विकसित हुँदै गयो। परिमार्जित हुँदै द्वारिकादासबाट छोरा ज्ञानेन्द्रदास र हाल उहाँको पुत्र कशिशदास श्रेष्ठसम्म पुगेको छ। यो पुस्तिकाले हजुरबुबा, बा र नातिका कृति र परिचय दिने काम गरेर नेपाली छायाछविको इतिहासमा नयाँ अध्याय सुरु गरेको छ।

दार्जिलिङबाट नेपाल आएका धेरै स्रष्टा जस्तै : लैनसिंह बाङ्देल, अमर गुरुङ, रामकृष्ण शर्मा, कुन्ती मोक्तान, पारिजात आदिको नेपाली कला, साहित्य, संगीत र संस्कृतिको विकासमा अतुलनीय योगदान रहेको निर्विवाद छ। दास सन्ततिले पनि दार्जिलिङबाट आएर यहाँको कला, संस्कृति, प्रकृति र सुन्दरता झल्काउने तस्बिरमार्फत नेपाल र नेपालीलाई विश्वसामु परिचित गराउने कार्यमा पुर्‍याएको योगदान अतुलनीय छ। नेपालको पर्यटनको विकाससँगै हजुरबा पुस्ताका द्वारिकादास श्रेष्ठले सायद पहिलोपटक पोस्टकार्डमार्फत विश्वमा नेपालको पहिचान गराउन सुरु गरेका थिए।

द्वारिकाकै पदचाप पछ्याउँदै उनका पुत्र ज्ञानेन्द्रदास श्रेष्ठ (सन् १९५५) ले आफ्नो पिताबाट आर्जित ज्ञान र सीपका आधारमा अन्तर्राष्ट्रिय पुरस्कार पनि पाउन सफल भए। उनले काठमाडौँको कान्तिपथमा दास कलर ल्याब खोले ९० को दशकमा र नेपालमा कम्प्युटरकृत स्वचालित यन्त्रबाट रंगीन फोटो उत्पादन सुरु गरे। पोस्टकार्डमात्र नभएर उनले पोस्टर पनि प्रकाशन गर्न थाले। नेपालका सम्पूर्ण हिमालको पानोरामिक दृश्य देखिने पोस्टर अहिलेसम्म अत्यन्त मन पराइने पोस्टर हो। जसले नेपाल प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

सन् १९६३ को बौद्धनाथ क्षेत्र र सन् १९६४ को पाशुपत क्षेत्र। दुवै तस्बिर द्वारिकादासले खिचेका हुन्। तस्बिर साभार : पोस्टकार्डस् फ्रम काठमान्डुज पास्ट

नाति पुस्तामा आएर कशिशदास श्रेष्ठ (सन् १९८२) ले छायाछविको यो दुनियालाई अझ विस्तृत पारेका छन्। उनी कहिले नेसनल ज्योग्राफीको प्रतिस्पर्धामा सहभागी भई अवार्ड जित्छन्। त कहिले नेपाली फोटोग्राफरलाई विश्व रंगमञ्चमा चिनाउन लागिपर्छन्।

कहिले माओवादी द्वन्द्वको परिणतिलाई क्यामरामा कैद गर्न नेपालका विकट ठाउँ पुग्छन। अमेरिकाका प्रतिष्ठित कलेजबाट फोटोग्राफी, पत्रकारिताजस्ता विषय उच्च अध्ययन गरेका कशिश विश्वव्यापीकरण र नेपालले लिएको खुलापनको नीतिको भरपूर उपयोग गर्दै विश्वमा नेपालको नाम फोटोमार्फत परिचित, स्थापित र प्रतिष्ठित गराउन लागिपरेका छन्। कतिपय आफ्ना उद्देश्य हासिल गर्दै आफ्नो हजुरबाको पुस्ताले सुरु गरेको नेपाली फोटोग्राफीको इतिहासलाई नयाँ उचाइमा पुर्याउन सफल भएका छन्।

पुस्तान्तरण हुँदै आएको फोटोग्राफीको ज्ञान, सीप र कला एकै वंशको भए पनि समय र युग परिवर्तन हुँदै जाने क्रममा त्यही विषयवस्तुको प्रस्तुति भने नितान्त फरक हुने बोध हुन्छ। हजुरबा, बा र नातिको यस सानो पुस्तिकामा संलग्न गरिएका तस्बिर नियाल्दा। एक पुस्ताले उठान गरेको र गर्ने विषय अर्को पुस्तासम्म आउँदा समाजमा आउने परिवर्तन समाहित गर्नुपर्ने त छँदै छ। हरेक व्यक्तिको आआफ्नै वैशिष्टय हुन्छ र त्यो पनि झल्कने गर्छ।

हातले गर्नुपर्ने काम क्रमशः यान्त्रीकरण हुँदै गएर रंगीन फोटोको दुनियाँको चमकधमक हुँदै डिजिटल युगमा प्रवेश गरेकोले हरेक पुस्ताको प्रस्तुति फरक महसुस हुनु स्वाभाविक हो। यसै क्रममा तीनै पुस्ताले प्रस्तुत गरेका केही तस्बिरबारे संक्षेपमा उल्लेख गर्न चाहेको छु :

१. एउटा फोटो खिचेका छन् हजुरबा द्वारिकादास श्रेष्ठले सन् १९६५ मा पाटन दरबारको परिवेशको। फोटोमा देखिन्छ दरबारअगाडि पार्किङ गरिएको कालो कार र छेउमै भएका पसल र विशाल घण्टी, नांगो खुट्टा र कछाडमा आफ्नो काममा हिँडिरहेको कुनै कामदारको हतारले त्यतिबेलाको नेपालको सजीव चित्रण गरेको छ। त्यसैबेलातिर खिचिएको अर्को तस्बिरमा कृष्ण मन्दिरको भव्यता र पार्किङ गरिएर राखिएका सायद क्यडिलक कार र जिप देखिन्छ भने त्यही आँगनमा खुद्रा पसले आफ्नो सामान फिँजाएर बसेका छन् ग्राहक कुर्दै। फोटोमा मान्छेहरूले जुत्ता लगाएका छैनन्। मानिसको खुट्टामा जुत्ता नहुने बेला रहेछ।

सन् १९६५ को पाटन दरबार क्षेत्र। यो तस्बिर द्वारिकादास श्रेष्ठले खिचेका हुन्। तस्बिर साभार : पोस्टकार्डस् फ्रम काठमान्डुज पास्ट

बादलको सेतो बर्को ओढेजस्तो कृष्ण मन्दिरको पृष्ठभूमिमा नीलो आकाशमा बादल उड्दै गरेको देखिन्छ। कृष्ण मन्दिरलाई अझ चहक प्रदान गर्दै गरेजस्तो। पाटनका यी दुवै फोटोले त्यतिबेलाको पाटन दरबारको आँगनमा हुने चहलपहल राम्रैसँग देखाउँछ। अहिले ती फोटो हेर्दा एकपटक पुनः उतिबेलाको नेपालमा पुगेको आभास हुन्छ।

हजुरबा पुस्ताले फोटो खिचेको त्यही पाटन दरबार क्षेत्र, त्यही कृष्ण मन्दिरको आँगनलाई १५ वर्षपछि छोरा पुस्ता ज्ञानेन्द्रदास श्रेष्ठले सन् १९८० मा फ्रेममा उतारे। ‘पाटन बजार’ तस्बिरमा नेपालमा प्रवेश गरेको आधुनिकता र सम्पन्नताको चित्रण गरेको छ। त्यही दरबार र कृष्ण मन्दिर अनि घण्टी साक्षीझैँ उभिएकै छन्। तिनकै आँगनमा विभिन्न प्रकारका तरकारी फलफूल अनि नयाँनयाँ लुगा बेच्ने पसल देख्न सकिन्छ। अनि मानिसको लवाइ पनि परिष्कृत र आधुनिक हुँदै गएको देखिन्छ। महिला निर्धक्क भएर बजारमा बसेर व्यापार गरिरहेको देखिन्छ। यसबाट उनीहरूको जागरुकता र सक्रियता इंगित गरेको बुझ्न सकिन्छ।

नाति पुस्ता कशिशदास श्रेष्ठले त्यही क्षेत्रमा आफ्नो हजुरबाले ‘पाक्र्ड इन पाटन’ खिचेको ४३ वर्षपछि २०२३ मा तस्बिर खिच्दा नेपालको बेग्लै अवस्थाको झल्को दिन्छ। पाटन दरबार त्यही आँगनको साक्षी बनेको छ कृष्ण मन्दिर र दरबार। हजुरबाले खिचेको त्यही ठाउँको तस्बिरले देखाएको अवस्थामा आमूल परिवर्तन भएको देखिन्छ। नेपालको सम्पन्न सांस्कृतिक धरोहरको संरक्षण भएको, सरसफाइ र थप व्यवस्थित भएको, जोडीहरू त्यही धरोहरको दृश्यावलोकन गर्दै प्रेमालापमा लीन भइरहेको देखिन्छ। यस तस्बिरले नेपालको बदलिँदो सामाजिक परिवेश र आर्थिक अवस्थाको चित्रण गर्छ।

२. यस पुस्तिकामा मलाई असाध्यै मन परेको अर्को तस्बिर हो, ‘काठमाडौँ उपत्यकाको विहङ्गम दृश्य’। म जन्मनुभन्दा एक वर्षअघि सन् १९६० मा हजुरबुबा द्वारिकादास श्रेष्ठद्वारा खिचिएको काठमाडौँ उपत्यकामा स्पष्टसँग देखिने धरहरा र घण्टाघर अनि पृष्ठभूमिमा रहेको यो तस्बिर सायद स्वयम्भूको डाँडाबाट खिचिएको होला। करिब ६३ वर्षअघिको काठमाडौँ! हरिया फाँट, कलकल बग्ने बागमती, विष्णुमती, रुद्रमती, इछुमती, मनोहराजस्ता पवित्र नदीनाला, खोलाले सिँचित गरेको समथर भूमिमा झुल्ने धानका बाला, हिउँदमा फल्ने विभिन्न थरीका हरिया सागसब्जी, गणेश हिमालले पश्चिमबाट हेरिरहन्छन् यो पाशुपत क्षेत्र, शिवपुरी, नागार्जुन, मणिचूड, चन्द्रागिरी पहाडले घेरिएको यो उपत्यकाको विहङ्गम दृश्य एकाएक फेरिन्छ।

अन्न भण्डारका रूपमा रहेको उपत्यकाको उब्जाउ भूमिमाथि ठडिएको कंक्रिटको जंगल दृष्टि गोचर हुन्छ। सन् २०१५ को महाभूकम्पको केही समयअघि नाति कशिशले खिचेको तस्बिरमार्फत। दुःखका साथ भन्नुपर्छ ६ दशकपछिको अव्यवस्थित रूपले बढेको अस्तव्यस्त काठमाडौँ उपत्यकाले एक कुरूप राजधानीको परिचय दिन्छ यो तस्बिरमार्फत।

सन् १९६० को काठमाडौँ उपत्यका। यो तस्बिर द्वारिकादास श्रेष्ठले खिचेका हुन्। तस्बिर साभार : पोस्टकार्डस् फ्रम काठमान्डुज पास्ट

काठमाडौँको १९६४ मा हजुरबाले खिचेको तस्बिरले सादृश्य गराएको प्राकृतिक अवस्था र यस सहरको स्थानीयवासीको बासस्थानको स्वरूपमात्र फेरिएन त्यही स्थानबाट नातिले सन् २०२३ मा लिएको फोटोले उपत्यकाका डाँडामा बढेको जंगलले भने उपत्यकाको कुरूप कंक्रिट जंगलसँग प्रतिस्पर्धा गरिरहेको अनुभूति हुन्छ।

३. यसै पुस्तिकामा समावेश भएका फोटोमध्ये मेरो चासोको अर्को फोटो हो बौद्धनाथ स्तूपको! बौद्धनाथका अर्ध निलिमित आँखाको छत्रछायामा जन्मिएको, हुर्किएको, बढेको मेरो निमित्त बौद्धनाथ स्तूप र यसका वरिपरिका जनजीवन, संस्कृति र प्रकृति झल्काउने तस्बिरले मलाई विगतका दिनमा पुर्‍यायो। जहाँ कुनै भागबाट पनि स्तूप दृष्टिगोचर हुन सक्थ्यो। हरिया खेत अनि ससाना पोखरी, चौबीसै घण्टा छलछल गरेर खानेपानी आउने ढुंगेधारा। अचेल ती धाराका अवशेषमात्र बाँकी छन्। तर पनि त्यो क्षेत्रको नाम ‘धारा टोल’ छ।

अब त ती दिन गइगए भनेझैँ। १९६२ मा द्वारिकादासले खिचेको फोटोले तत्कालीन बौद्ध अनि खुला खेत र नेपाली शैलीका घर देखाउँछ। पृष्ठभूमिको सायद मणिचूड शिखर अनि त्यहाँबाट चियाइरहेका हिमशृंखला। उनले नै १९६३ मा सायद हवाईजहाजको झ्यालबाट खिचेको एरियल फोटो खिच्नु र आजको अव्यवस्थित विकास निर्माण भएका ठूलठूला गुम्बा, होटल अनि घरले बौद्धको त्यो प्राकृतिक सुन्दरता, स्वच्छता इतिहासमा सीमित गरिदिएको छ। अहिले भनिने कपनफाँट, महांकाल, रामहिटी, तीनचुले र अझ पर फैका र बेखका थुम्का र फाँटमा खेल्दै हुर्किएको मेरो पुस्ताले मात्र त्यो मनोहर वातावरणको रसास्वादन गर्न पायो। किनकि पयर्टनको नाममा नेपालका धार्मिक, सांस्कृतिक धरोहर र त्यस वरिपरिका प्रकृति जोगाउनेभन्दा विनाश गर्ने कार्यले आजको कंक्रिटको जंगलले बौद्धनाथ घेरिन पुगेको छ। हरेक बिहान महांकालस्थित मेरो घरको झ्यालबाट समेत दर्शन हुने बौद्धनाथ अब यति अग्ला घरहरूले घेरिएका छन् कि स्तूपको तल पुगेरमात्र दर्शन गर्न सकिने भएको छ।

१९६० को उनके बौद्ध पृष्ठभूमिमा खिचिएको अर्को तस्बिरले बौद्धको कुनै सडकमा हिँडिरहेका सायद तिब्बती शरणार्थी बौद्धनाथको दर्शन गरेर आफ्नो गन्तव्यतर्फ हिँडिरहेको देखाएको छ। १९५९ मा दलाई लामाले भारतमा शरण लिएपछि नेपाल हुँदै भारत जान चाहने वा नेपालमै शरण लिन तिब्बती शरणार्थी आउने क्रम सुरु भएको थियो। द्वारिकादासले त्यो ऐतिहासिक क्षणलाई यो फोटोमा कैद गरेका छन्। नाति कशिश पनि बौद्धनाथ स्तूपको इतिहास पछ्याउन सिपालु छन् भन्ने कुरा उनको २०१५ मा महाभूकम्पले भग्न अवस्थामा रहेको स्तूपतर्फ फर्किएर श्रद्धालुले गरिरहेको स्तुति पाठसहितको यो फोटोलाई उनले नाम दिएका छन् ‘अनब्रोकन डिभोसन’ अर्थात् स्तूपको शिर नै ढले पनि श्रद्धालुको आस्था उस्तै छ। फोटोले सन्देश दिएको छ। आशाको सञ्चार गराउने यो फोटोले जस्तोसुकै परिस्थितिमा पनि अडिग रहन सक्ने मानवीय गुणको उजागर गरेको लाग्दछ।

नेपालको प्रकृति, संस्कृति, जीवनको सजीव चित्रण गर्ने तस्बिरमार्फत विश्वमा नेपालको नाम र मान दुवै राख्न सफल हजुरबा, छोरा र नातिको प्रयास सराहनीय छ। दास परिवार जस्ता अन्य यस क्षेत्रका व्यतित्वहरूको खोजखबर राख्ने, उहाँहरूका कृतिलाई प्रकाशित गर्ने वा प्रचारप्रसार गरी नयाँ पुस्तासम्म पुर्‍याउने काम हुन सकेमा नेपालको विगत र वर्तमानसँग यो पुस्ताले पनि आफूलाई एकाकार गर्न सक्नेछन्। इतिहास, कला, संस्कृतिबारे जान्नेछन्।

नेपालको प्रवर्धन गर्नु नै एकमात्र उद्देश्यका साथ जीवन यसैमा समर्पण गरेका दास परिवारलाई हृदयदेखि नै साधुवाद! आगामी दिनमा उहाँहरूका खासगरी नाति पुस्ता कशिशबाट अन्य यस्तै कृति हेर्न, पढ्न पाइयोस् र हाम्रो सांस्कृतिक धरोहरको इतिहासप्रति सदैव गर्व गर्न पाइयोस् यही कामना गर्दछु।

काठमाडौँको एउटा धारामा गाग्रीका साथ बालिका। ज्ञानेन्द्रदास श्रेष्ठले सन् १९७६ मा खिचेको यो तस्बिरले युनेस्को फोटो कम्पिटिसनमा पुरस्कार पाएको थियो। तस्बिर साभार : पोस्टकार्डस् फ्रम काठमान्डुज पास्ट

(कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक पूर्वराजदूत हुन्। खनाल बेइजिङस्थित नेपाली दूतावासमा द्वितीय सचिव, प्रथम सचिव हुँदै डिसेम्बर, १९९६ देखि अप्रिल १९९७ सम्म कार्यवाहक राजदूत थिए।)


प्रतिक्रिया

One thought on “तीन पुस्ताको तस्बिरमा काठमाडौँ

  1. Sundar Prastuti. The writer’s writing skills and presenting a wider perspective are appreciable.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =