वातावरणमैत्री घर बनाउनेलाई नबिल बैंकले ५ करोडसम्म कर्जा दिने

हिमाल प्रेस २२ जेठ २०८० १२:१३
6
SHARES
वातावरणमैत्री घर बनाउनेलाई नबिल बैंकले ५ करोडसम्म कर्जा दिने

काठमाडौँ- नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन्।

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकप्रति लक्षित छ। दिगो आवासमा लगानी गर्न चाहने ग्राहकलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ।

यो कर्जा दिँदा आधारदरमा १ प्रतिशत प्रिमियम मात्रै थप गरिने बैंकको भनाइ छ। स्थिर ब्याजदर चाहने ग्राहकले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा लिन सक्नेछन्।

सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र त्यसपछिको बाँकी अवधिमा त्यो बेलाको आधारदरमा १.५ प्रतिशत जोड्दा हुने ब्याजदरमा प्राप्त गर्न सक्नेछन्। यो योजनामा १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइने बैंकले जानकारी गराएको छ। यस कर्जालाई ग्राहकले अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन्। कर्जाको न्यूनतम सीमा सात लाख र अधिकतम पाँच करोड रुपैयाँ छ।

यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुने घरको नक्सा पास पेस गर्नुपर्ने छ। नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधिलगायत समावेश हुनुपर्ने छ। त्यस्तै किफायती ऊर्जा सामग्री जस्तैः  सीएफएल, एलईडी लाइटको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधि समावेश भएको हुनुपर्ने छ।

यो नयाँ घर निर्माण गर्न वा घर खरिद गर्न, कर्जा स्वाप गर्न तथा नबिल बैंकबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकले वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २२ जेठ २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =